८ कार्तिक २०८३, आइतबार

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ वैशाख । नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित बिशेष समारोहबीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।

सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गरे ।

विगतमा भोगेका भन्दा नयाँ ढाँचा र आधुनिक प्रकृतिका अपराधहरु विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ्य सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उनले उल्लेख गरे ।

गृहसचिव पाण्डेले हालै प्रहरी संगठनकोतर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताए । प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उनले व्यक्त गरे ।

सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्र्याउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उनले बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञतासहित आभार व्यक्त गरे ।

नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भने, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको छ ।”

सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतः निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भने, “शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प छैन । अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई अर्बन पोलिसिंग र रुरल पोलिसिंगको अवधारणा अनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकहरु माझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहनेछ ।”

राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधनहरु प्रभावकारी रुपमा परिचालित हुने उनले बताए ।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गरे ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुसाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।

विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मेका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेनट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका
विभूषणबाट विभूषित भएका छन् ।

यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित भएका छन् ।