शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सिम्तामा हजार भन्दा बढी मतले निर्वाचन जित्छु : अध्यक्ष पदका उम्मेदवार चन्द (अन्तर्वार्ता)

दैनिक नेपाल २०७९ वैशाख १७ गते ८:१९

ऐन बहादुर चन्द, अध्यक्ष पदका उम्मेदवार, सिम्ता गाउँपालिका, सुर्खेत

सुर्खेतको सिम्ता गाउँपालिकामा नेकपा एमालेका तर्फबाट ऐन बहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् ।

उनी सुर्खेत जिल्लामा स्थापित कम्युनिस्ट नेता हुन् । शालीन र इमानदार नेताको छवि बनाएका चन्दलाई स्थानीयले सहजै निर्वाचनमा बिजय हुने आँकलन गरिरहेका छन् । वास्तमा उनले यति सहजै किन चुनाव जित्दैछन् रु प्रस्तुत छ, उम्मेदवार चन्दसँग गरिएको छोटो कुराकानीः–

अघिल्लो पटक पनि पहिलो नम्बरमा सिफारिस भएर टिकट पाउनु भएन । साथी कबिन्द्र केसीलाई जिताउनु भयो । अहिले कस्तो छ अबस्था ?

राजनीतिमा धैर्यता चाहिन्छ । मैले इमानदारीपूर्वक नेकपा एमालेको नीति र बिधिभित्र रहेर राजनीति गर्दै आएको छु । अघिल्लो पटक कमरेड कबिन्द्र केसीलाई जिताउन सफल भयौं । यसपालि म लगायत ९ वटै वडाको टीमलाई जिताउन एमाले एकढिक्का भएर लागिरहेको छ । हामी निर्वाचन अघिल्लो पटक भन्दा धेरै मतसहित जित्दैछौँ ।

पार्टी भित्र असन्तुष्टीहरू पनि छ भन्ने हल्ला छ नि ?

बिल्कुल गलत कुरा हो । नेकपा एमालेभित्र केही असहमति हुन सक्छन् । तर, सिम्ता गाउँपालिकामा एमाले एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा होमिएको छ । वडा नम्बर ३ मा अध्यक्षका स्वतन्त्र उम्मेदवार कमरेड गगन सिंहले उम्मेदवारी फिर्ता लिएसङै एमालेको विवाद साम्य भइसकेको छ । हामीले एमालेलाई सिम्तामा फेरि बिजय गराएर देखाउने छौँ ।

तपाईका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वीरेन्द्र रावतको बारेमा के भन्नुहुन्छ ?

बहुदलीय प्रतिस्पर्धामा सबैलाई भाग लिन छूट छ । रावतजीसँग मेरो प्रतिस्पर्धा हुँदैन । रावतजी एउटा रिटायर्ड शिक्षक हो । स्वच्छ प्रतिस्पर्धामा उहाँलाई स्वागत छ तर उहाँ भन्दा हजार बढी मत मेरो पक्षमा सिम्ताली जनताले जाहेर गर्छन् ।

काङ्ग्रेस र माओवादीले पनि तपाईंलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् र ?

साँच्चै भन्ने हो भने म सिम्ताली जनताको साझा उम्मेदवार हुँ । सिम्ताली मतदाता, यहाँका अन्य पार्टीका मानिस लगाएत सबैले मलाई जिताउने निश्चित छ । सिम्ताली दाजुभाइ तथा दिदिबहिनीहरुले मेरो इमानदारीता, निष्ठा र त्यागलाई राम्रोसँग बुझ्नुभएको छ । मलाई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास मैले गरेको छु ।

के–के छन् चुनावी एजेन्डा ?

कमरेड कबिन्द्र केसीको पालमा भएका रणनीतिक महत्त्वका परियोजनालाई अगाडि बढाउने कुरा भइ नै हाल्यो । त्यसपछि सबै वडा कार्यालयको केन्द्रसम्म पिच सडक निर्माण गर्ने, ६ महिनाभित्र एमबीबीएस डाक्टरसहितको स्वास्थ सेवा शुरुआत गर्ने र प्रत्येक आर्थिक वर्षमा एकजना स्थानीय उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस पढ्न अनुदान दिने मेरो मुल एजेण्डा छन् ।

त्यस्तै प्राविधिक शिक्षालय स्थापना गर्ने, सबै घरधुरीमा विद्युत् र खानेपानी सेवा उपलब्ध गराउने, हरेक किसानलाई प्रोत्साहनमा÷प्रतिफलमा आधारित अनुदान दिने, सबै किसानलाई निःशुल्क बिउबिजन र प्राविधिक परामर्श सेवा दिनेलगायत मेरो एजेण्डा छ । यी कामहरू सम्पन्न हुँदै जाँदा सिम्ताले विकासमार्फत कोल्टो फेर्ने निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित