
काठमाडौं, १६ वैशाख । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा अपेक्षाभन्दा बढी उम्मेदवारले मनोनयनपत्र दर्ता गरेपछि छापिएर ढुवानी गरिसकेको मतपत्र खेर जाने स्थिति आएको छ ।
निर्वाचन आयोगले हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकेको जनाएको छ ।
७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छापिसकेको छ। आयोगले १ करोड ९४ लाख मतपत्र छाप्दै छ। तर, अपेक्षाभन्दा बढी स्वतन्त्र उम्मेदवार परेपछि आयोगले छापेर जिल्ला पठाइसकेको मतपत्र फेरि छाप्नुपर्ने अवस्था आएको छ ।
मधेस प्रदेशमा आयोगले अपेक्षा गरेको भन्दा बढी उम्मेदवारको मनोनयन परेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘मधेस प्रदेशमा आयोगले अपेक्षा गरेको भन्दा फरक सङ्ख्यामा उम्मेदवारी परेको छ ।
बढी नै परेको उम्मेदवारलाई लक्षित गरेर आयोगले निर्णय लिइनेछ’, उनले बताए । रौतहटमा मात्र ६५६ जनाले विभिन्न पदमा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता गराएका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मात्र २०९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौैंको हुने आँकलन गरेर आयोगले मतपत्र छापिसकेको थियो ।
सोहीअनुसार मतपत्र छापेर विभिन्न जिल्लामा ढुवानीसमेत भइसकेको छ । अब उपमहानगर र महानगरको मतपत्र मात्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ । तर, छापेर ढुवानी भइसकेको मतपत्र खेर जाने भएपछि आयोगले पुनः मतपत्र छाप्ने तयारी गरेको छ ।
आयोगका सहप्रवक्ता अर्यालले ढुवानी भइसकेका मतपत्रलाई सदुपयोग गर्दै अपुग भएको मतपत्र पुनः छाप्ने विषयमा निर्णय लिने बताए । आयोगले पछिल्लो पटक १ लाख ५३ हजार १४५ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको तथ्याङ्क दिएको छ । अन्तिम तथ्याङ्क आउन बाँकी छ, आजको द नेपालटप दैनिकमा समाचार प्रकाशित छ ।















प्रतिक्रिया