२९ आश्विन २०८३, बिहिबार

जिते नेता, हारे पत्रकार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनबाट स्थानीय तहको नेतृत्वमा पुग्न झन्डै २०० जना पत्रकारहरू चुनावी मैदानमा उत्रिएका नेपाल पत्रकार महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघमा आबद्ध भएर सक्रिय पत्रकारिता गरिरहेका उनीहरूले पालिका प्रमुखदेखि सदस्यसम्ममा विभिन्न दलका तर्फबाट र स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।

सरकारी जागिर र लाभको पदमा भएका व्यक्तिले चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भए पनि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई चुनाव लड्न कानुनले नछेकेकै कारण यस पटक स्थानीय तहको नेतृत्वमा पुग्न पत्रकारहरूको आकर्षण बढेको छ ।

नेपाल पत्रकार महासंघको विधानको परिच्छेद– ८ ‘अनुशासन र आचारसंहिता’अन्तर्गत बुँदा ३२. ‘अनुशासन र कारबाही’ (२)मा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने व्यवस्था छ ।

तर, निर्वाचनमा उम्मेदवारी दर्ता गराएका अधिकांश पत्रकार महासंघका केन्द्रीय, प्रदेश र शाखा सदस्यका रूपमा रहेका भए पनि उनीहरूले ती पदबाट त राजीनामा दिएका छैनन् नै, आफू आबद्ध सञ्चार माध्यमबाट समेत राजीनामा दिएका छैनन् ।

पत्रकारले कुनै दलको पक्षपोषण हुनेगरी लेख्न, बोल्न नहुने सामाजिक र परम्परागत मान्यता छ भने दलमा आबद्ध भए महासंघको सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान छ । तर, दल निकटका पत्रकारका विभिन्न शुभेच्छुक र भ्रातृसंस्थाको निर्वाचनमा समेत उनीहरू महासंघ सदस्यकै हैसिततमा चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्, आजको द नेपालटप दैनिकमा घनेन्द्र ओझाले समाचार लेखेका छन् ।