
बागलुङ, १० वैशाख । आगामी स्थानीय निर्वाचनका लागि नेकपा एमाले काठेखोला गाउँपालिका कमिटीले ८ वडा ८ पहिचानसहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार अक्षेतेमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा एमालेको प्रतिवद्धता सार्वजनिक गरिएको हो । गाउँपालिकाका ८ वटा वडामा ८ वटा मुख्य पहिचान बनाउने योजनाका साथ निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
८ वटा वडामा ८ विशेष पहिचानसहित समग्र काठेखोलाको विकासका लागि एमालेको योजनाका रूपमा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको नेकपा एमाले गण्डकी प्रदेशका सदस्य तथा प्रतिवद्धतापत्र निर्माणका लागि गठित कार्यदलका सदस्य रामबहादुर जीसीले जानकारी दिए । एमालेले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको आधार : समृद्ध काठेखोला निर्माणका लागि एमाले नेतृत्वको स्थानीय सरकार भन्ने नाराका साथ आफ्ना प्रतिवद्धता सार्वजनिक गरेको बताएको छ ।
एमालेले ८ वडाका ८ पहिचानमा वडा नं. १ लाई कृषि उपज, सहकारी खेती विस्तार विशेष क्षेत्र, वडा नं. २ लाई पशुपालन र तरकारीको विशेष क्षेत्र, वडा नं. ३ लाई आलु पकेट क्षेत्र तथा पर्यटन प्रवर्द्धनको मुख्य क्षेत्र बनाउने उल्लेख गरेको छ ।
वडा नं. ४ लाई जनजाती संग्राहलय तथा पशुपालन विशेष क्षेत्र, वडा नंं ५ लाई पर्यटन र धार्मिक सास्कृतिक विशेष क्षेत्र, वडा नं. ६ लाई प्राविधिक शिक्षा र कृषि बागबानीको विशेष क्षेत्र, वडा नं. ७ लाई चिया खेती र खेलकूदको मुख्य क्षेत्र तथा वडा नं. ८ लाई हाते कागज र जुडिबुटीको विशेष क्षेत्र बनाउने एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
काठेखोला गाउँपालिकाको समग्र विकासका लागि एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पशुपालन र फलफूल खेती, पर्यटन, जलस्रोत सिंचाई, खेलकूद, सामाजिक सांस्कृतिक विकास, वन वातावरण, शान्ति सुरक्षा, खानीहरू, श्रम र रोजगार लगायतका विषयमा आफ्ना प्रतिवद्धता उल्लेख गरेको छ ।
एमाले नेतृत्वको स्थानीय सरकारले काठेखोलाको विकासका लागि गरेका कामहरूको विवरण सहित एमालेले आगामी दिनमा गर्ने कार्यहरूको बारेमा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्कीले जानकारी दिए । एमालेले निर्वाचनबाट विजयी भएपछि आगामी ५ वर्षका लागि ५ विशेष योजना निर्माण गरी अगाडि बढ्ने योजना बनाएको कार्कीको भनाइ छ ।
कार्यक्रममा ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान गरिएको थियो । ज्येष्ठ कम्युनिष्ट तथा नेकपा एमालेका तर्फबाट तत्कालीन रेश गाविसका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कविराज थापा, रेश जिरेदीका ज्येष्ठ सदस्य गुमा कार्की, वडा नं. १ का दुर्गाबहादुर भण्डारी, वडा नं. २ का खड्कबहादुर थापा, वडा नं. ३ का जयबहादुर खड्का, वडा नं. ४ का भद्रकुमारी भण्डारी, वडा नंं ५ का मुक्तिराज विक, वडा नंं ६ का गुमादेवी कँडेल र वडा नं. ८ का रणबहादुर पुनलाई सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज डा.सूर्य पाठक र जिल्ला अध्यक्ष हिरा बहादुर केसीले आगामी स्थानीय निर्वाचनमा एमालेका उमेदवारलाई विजयी बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् ।
अबको २० दिन पार्टी कामका लागि समय व्यवस्थापन गर्न, नेकपा एमालेको नेतृत्वमा रहेका केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले गरेका कामका बारेमा जनतालाई जानकारी गराउनाका साथै आगामी दिनमा एमालेका प्रतिवद्धतासहित मतदाताको घरघरमा जान उनले सुझाव दिएका छन् ।
कार्यक्रम एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, सचिव विद्यापति शर्माको सञ्चालन र उपसचिव तिलक खड्काको स्वागतमा सम्पन्न भएको थियो । एमालेले वैशाख १२ गते काठेखोलामा उमेदवारी दर्ता गर्ने कार्यक्रम राखेको छ ।















प्रतिक्रिया