
काठमाडौं, ३ वैशाख। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार मध्यान्न २ बजे पार्टी कार्यालय सानेपामा डाकिएको छ।
गठबन्धनको भागवन्डाको मोडालिटीसहित ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुखको भागवन्डामा कुन–कुन लिने भन्ने विषयमा कांग्रेसले निर्णय गर्ने भएको हो।
एक जना केन्द्रीय सदस्यका अनुसार ६ महानगरपालिकामा यसअघि टेस्ट नै नभएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)लाई कुनै पनि दिन नहुने प्रस्ताव पनि बैठकमा राखिनेछ। चार महानगरपालिका आफूले राखी दुई वटा गठबन्धनका साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई दिन सकिने बैठकमा छलफल हुनेछ।
तर नेकपा एसले पनि महानगरपालिकामा दाबी गरेका कारण यसको निर्णय पदाधिकारी तहबाट आउने प्रस्तावका आधारमा हुन सक्नेछ।
भागवन्डा माथिल्लो तहबाट भए पनि भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाका विषयमा सम्बन्धित जिल्ला कार्य समितिले देखाएका विरोधका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघि नै बागी उठाए या विरोध गरे अनुशासनको कारबाही गरिने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताएका थिए।















प्रतिक्रिया