
काठमाडौं, ३० चैत । स्थानीय तहका जनप्रतिनिधि बन्न संघीय सांसददेखि पूर्वमन्त्रीसम्मले आ–आफ्ना पार्टीमा लबिङ बढाएका छन् ।
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धा गर्न संघीयदेखि प्रदेशसम्मका सांसद राजीनामा दिन तयार भएर बसेका छन्।
स्थानीय जनप्रतिनिधिले प्रयोग गरेको अधिकार र उनीहरुको क्रेज देखेर काठमाडौंको सिंहदरबारबाट गाउँको सिंहदरबारतर्फ आँखा लगाउने जनप्रतिनिधिको सूची लामो बनिसकेको छ। विराटनगर महानगरपालिकाको प्रमुख बन्न पूर्वमन्त्रीसमेत रहेका एमाले संघीय सांसद लालबाबु पण्डितले आकांक्षा देखाएका छन् ।
उनले पार्टीले जिम्मेवारी दिए आफू विराटनगर हाँक्न तयार रहेको प्रतिक्रिया दिए । तर स्थानीय कमिटीले उनको नाम प्रमुखमा भने सिफारिस गरेन। पण्डित भने जिल्ला या केन्द्रीय संयन्त्रले चाहे अहिले पनि आफू प्रमुख बन्न सक्ने बाटो जीवित रहेको बताउँछन् । विराटनगर महानगरको प्रमुखमा एमालेका अर्का प्रदेश सांसद तथा पूर्व प्रदेश मन्त्री जीवन घिमिरे पनि आकांक्षीका रूपमा देखिएका छन् । नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य सरिता गिरी यादवले प्रमुखको टिकटमा दाबी गरेकी छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुखमा उनले दाबी गरेकी छन् । उनी अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा पनि दाबेदार थिइन् । तर टिकट पाइनन्, पछि पार्टीले उनलाई संघीय सांसद बनायो । संघीय सांसदका रुपमा काम गरेर धेरै कुरा सिकेको भन्दै उनले आफ्नो ठाउँ बलियो बनाउन मेयर बन्न चाहना राखेको बताइन् ।
कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्य काठमाडौं महानगरपालिकाको प्रमुख बन्ने लविङमा छन् । उनीसँग एमालेका तर्फबाट प्रतिस्पर्धा गर्न एमालेका प्रदेश सांसद केशव स्थापितले त अभियान नै थालिसकेका छन् । स्थापित प्रदेशका पूर्व मन्त्रीसमेत हुन् । उता पोखरा र भरतपुर महानगरपालिकाको प्रमुख बन्न पनि प्रदेश सांसदहरु दौडधुपमा छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले त भरतपुरको प्रमुख बन्न पार्टीमा निवेदन नै दर्ता गराएका छन् ।
एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख बन्ने दौडमा छन्, गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापा । उनी २०५४ सालमा पोखरा उपमहानगरका प्रमुख भएका व्यक्ति हुन्।पोखरामै प्रदेशका बहालवाला कानुनमन्त्री बिन्दुकुमार थापाको पनि प्रमुखमा दाबी छ । कांग्रेसका तर्फबाट उनी कास्की २(ख) बाट निर्वाचित भएका थिए । संघीय सरकारका पूर्व कानुनमन्त्री यज्ञबहादुर थापासमेत पोखरा महानगरको प्रमुख बन्ने दौडधुपमा छन् ।
नेकपा एमालेका तर्फबाट निर्वाचित झापाका २ जना बहालवाला प्रदेश सांसदले मेचीनगर र बिर्तामोड नगरपालिकाको प्रमुख पदका लागि आकांक्षा राखेका छन् । स्थानीय कमिटीमा दाबेदारी पेश गरेका यीमध्ये अधिकांशलाई स्थानीय कमिटीले सिफारिस गरेको छ भने सिफारिसमा नपरेकाहरु माथिल्लो कमिटीबाट टिकट हत्याउन लागिपरेका छन् ।
मेचीनगर नगरपालिकाको प्रमुख पदका लागि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी र बिर्तामोड नगरपालिकाको प्रमुख पदका लागि प्रदेश सांसद एकराज कार्की तीव्र दौडधुपमा छन् । ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख बन्न एमालेका प्रदेशसभा सांसद चेतनाथ संजेलले दौडधुप तीव्र बनाएका छन् ।
उनलाई स्थानीय कमिटीले प्रमुखका रूपमा सिफारिस गरिसकेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद एवं प्रदेशसभामा प्रमुख सचेतक प्रमेश्वर साह सुडी पनि प्रमुख बन्न चाहेको बताउँछन्। जनता समाजवादी पार्टी (जसपा)का सांसद एवं मधेस प्रदेशका संसदीय विकास समिति सभापति शेषअब्दुल कलाम आजादले पनि प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
रौतहट क्षेत्र ४ (ख) बाट प्रदेशसभा सांसदमा निर्वाचित आजादले गढिमाई नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने बताए । यता हेटौंडा उपमहानगरपालिकामा एमालेबाट संविधानसभाका सदस्य अनन्त पौडेलले दाबी गरेका छन् । हेटौंडामा प्रदेशका मन्त्रीसमेत दाबेदार भए पनि खुलेर भने आउन नसकेको पौडेलको दाबी छ । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न संघीय र प्रदेश सांसदले राजीनामा दिनैपर्छ । गाउँँका सिंहदरबारमा जान भन्दै उनीहरु बीचैमा राजीनामा दिएर हिँड्न तयारी अवस्थामा छन्, आजको द नेपालटप दैनिकमा समाचार प्रकाशित छ ।















प्रतिक्रिया