२९ आश्विन २०८३, बिहिबार

स्थानीय तह निर्वाचन : एमाले उम्मेदवार छान्दै, मोडालिटीमै अड्कियो गठबन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा तालमेलको ‘मोडालिटी’ बनाउन व्यस्त छन्। गठबन्धनले तालमेलको मोडालिटी टुंग्याउन भने बाँकी छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको मोडालिटीबारे छलफल गर्दै आएको छ। निर्वाचन भने अबको ३२ दिनमा हुनेछ। अबको १४औँ र १५औँ दिनमा भने मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ।

निर्वाचनको समय नजिकिँदा गठबन्धनमा तालमेलमा अलमलिँदा नेकपा एमालेले भने धमाधम महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका हुँदै गाउँपालिकासम्मका उम्मेदवार टुंगो लगाउँदै छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उम्मेदवार टुंगो लगाउन थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले घोषणापत्र सार्वजनिक गरिसकेको छ । संसद्मा रहेका अन्य दल र बाहिरका दलहरू पनि निर्वाचनमा अभियानकेन्द्रित गतिविधिमा व्यस्त छन् ।

एमालेबाट ३ महानगरका उम्मेदवार सिफारिस

५ दलीय गठबन्धन निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तयार गर्न व्यस्त रहँदा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले भटाभट उम्मेदवार सिफारिस गर्दै छ। देशका ६ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाबाट उम्मेदवार सिफारिस सुरु गरेको एमालेले आइतबार २ महानगरपालिकाको उम्मेदवार पनि सिफारिस गर्‍यो।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कसले पाउने भन्ने विषयले चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेले विजय सुवेदीलाई अघि सारेको छ। २०७४ सालमा भएको निर्वाचनमा प्रमुखमा प्रतिस्पर्धा गरेका देवी ज्ञवालीको प्रस्तावमा सुवेदी प्रमुखका उम्मेदवार बनेका हुन् ।

उनको प्रतिस्पर्धा गठबन्धनका उम्मेदवारसँग हुनेछ। तर, गठबन्धनबाट को उम्मेदवार हुने भन्ने टुंगो लाग्न बाँकी छ। कांग्रेस र माओवादी दुवै पार्टीको महानगर प्रमुखमा दाबी छ। यी २ पार्टी अलमलमा रहँदा एमालेले उम्मेदवार अघि सारेको हो । आइतबार नै एमालेले ललितपुर महानगरपालिकामा पनि उम्मेदवार टुंगो लगाएको छ । पार्टीको महानगर कमिटीले हरिकृष्ण ब्यञ्जनकारलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

२०७४ सालमा भएको निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनसँग ३ मतान्तरले पराजित भएका थिए । उनै ब्यञ्जनकार फेरि उम्मेदवार बन्ने भएका हुन्। महानगरपालिकाको उपप्रमुखमा आस्था शाक्य ‘मञ्जली’ र सरस्वती खड्काको दाबी छ। प्रदेश २ को पर्सामा रहेको वीरगंज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने आकाङ्क्षीहरूको नाम भने सोमबार सार्वजनिक गर्ने एमालेको तयारी छ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा भने एमालेबाट पूर्वराज्यमन्त्री रामवीर मानन्धर, बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित र वर्तमान प्रमुख विद्यासुन्दर शाक्यको नाम चर्चामा छ । उम्मेदवारको रूपमा नाम टुंगिन बाँकी छ । शनिबार भने एमालेले प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको प्रमुखका लागि रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको थियो, आजको द नेपालटप दैनिकमा जंग तामाङले समाचार लेखेका छन् ।