
काठमाडौं, २६ चैत। गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परोक्ष संलग्नता रहेको बताइएको छ।
अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद रकम राष्ट्र बैंकले रोकेको थियो। शाहले रोकेको रकमलाई छुटाउनका लागि शक्ति केन्द्रको प्रयोग गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्म पहुँच लगाएर रकम निकासका लागि अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिइएको थियो।
शंकास्पद रकमलाई छानबिन नगरी निकासा गर्न नमिल्ने अडानमा गभर्नर अधिकारीले अडान लिँदै शक्ति केन्द्रको दबाब टेरेका थिएनन्। अर्थमन्त्री शर्माले पटक–पटक अधिकारीलाई रकम निकासाको बाटो खोल्न दबाब दिएका थिए। शर्मालाई प्रचण्डले उक्त आदेश दिएको उच्च स्रोतको दाबी छ।
अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले यो रकम जफत गरी अमेरिका फिर्ता गर्न पत्राचार गरेपछि राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले रकम रोक्का राखेर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाएको थियो।
विभागले उक्त रकमबारे अहिले पनि अनुसन्धान जारी राखेको छ। प्रधानमन्त्री कार्यालय माथाहत रहेको विभागलाई उक्त अनुसन्धान रोक्नका लागि दबाब दिन थालिएको बताइएको छ।
यता चुनावका मुखमा आएको ४० करोड निकासा गरेको खण्डमा माओवादी र कांग्रेसलाई निश्चित प्रतिशत रकम खर्चका रुपमा दिन शाहले प्रस्ताव गरेको स्रोतको दाबी छ। त्यसो त रकम निकासाका लागि कमिशनको माग हुने गरेको शाह आफैंले पनि खुलाएका थिए।















प्रतिक्रिया