
-एसपी उप्रेती
झापा, २५ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला संसदीय निर्वाचनको पनि चर्चा हुन थालेको छ ।
स्थानीय निर्वाचनसँगै संसदीय निर्वाचनका लागि राजनीतिक दल तथा तिनका नेता कार्यकर्ताहरुको सक्रियता बढेको छ ।
यही क्रममा सधैँ झैँ झापा चर्चित स्थान हो । राष्ट्रियस्तरका तथा मुलुकका बागडोर सम्हालिसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राप्रपाका राजेन्द्र लिङ्देनसम्मका नेताहरु झापाबाटै संसदीय चुनाव लड्दैछन् ।
आगामी संघीय संसदीय निर्वाचनमा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको क्षेत्र नं. ३ बाट उठ्ने करिब निश्चित भएको छ ।
पार्टीले आधिकारिक रुपमा उम्मेद्वार बनाएको नभए पनि प्रसाईँ आफ्नो राजनीतिक गतिविधि अगाडी बढाइरहेका छन् ।
क्षेत्र नं. ३ राप्रपाका अध्यक्ष लिङ्देन र कांग्रेसका नेता कृष्ण सिटौलाले निर्वाचन लडेको क्षेत्र हो । यसअघि एमालेको समर्थनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । यसपालि भने एमालेका प्रसाईले बाजी मार्ने अड्कल गरिएको छ ।
प्रसाईले एमालेले उक्त क्षेत्रमा आफूलाई खटाएको बताएका छन् । त्यसैले पनि उनी जीम हल बनाउनेदेखि अन्य विकास निर्माणका काम क्षेत्र नं. ३ मा गर्न थालेका छन् । त्यहाँका मतदाताले पनि आफ्नो क्षेत्रलाई राम्रो गर्ने प्रसाईँ नै हुने बताउन थालेका छन् ।
यसैबीच प्रसाईँले कांग्रेसका सिटौलालाई फोन गरेर आफू क्षेत्र नं. ३ मा उठ्ने भएकाले अन्यतिर जान आग्रह गरेका छन् ।
एमालेले क्षेत्र नं. ३ मा प्रसाईँलाई उठाउने तयारी गरेसँगै लिङ्देन र सिटौला भने दवावमा छन् । प्रसाईँका लोकप्रिय गतिविधिले जनतामा प्रत्यक्ष सकारात्मक छाप छोड्न थालेका छन् भने सिटौला र लिङ्देनलाई प्रसाईँको उम्मेदवारी भारी पर्ने देखिन्छ ।
यद्यपि निर्वाचनमा यी तीन जनाबीचको प्रतिस्पर्धा राष्ट्रिय राजनीतिमै रोमाञ्चक बन्ने देखिन्छ ।















प्रतिक्रिया