२८ आश्विन २०८३, बुधबार

राजनीतिमा बिलिन हुँदै वर्गीय दृष्टिकोण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

नेपाली समाज के चाहन्छ ? समाज चाहन्छ कि जनता अथवा समाजका निश्चित व्यक्ति ? समाजको आर्थिक, समाजिक तथा भौतिक विकासको लागि यो विषयमा घोत्लिन नितान्त आवश्यक छ ।

देशमा व्यवस्था परिवर्तनले मात्र मुलुक समृद्ध बन्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको सन्र्दभमा अबको वहस भनेको यसको अन्तरवस्तु नै हुनुपर्दछ । जबसम्म समाजको चरित्र र यसको अन्तरवस्तु बारेमा विचार, विमर्श र विश्लेषण हुन सक्दैन, तब देश विकास र समृद्ध बन्न सक्दैन ।

नेपालको परिपेक्ष्यमा हेर्ने हो भने पूँजीवादी विकासको अवधारणामा तीव्र रुपमा अगाडी बढेको देखिन्छ । विश्व पनि समग्रतामा यही पेरिफेरीमा अगाडी बढेको छ । तर विश्व नै पूँजीवाद उन्मुख भएता पनि यसको विगत के थियो भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी भईसक्यो ।

समाज अब कहाँ केन्द्रित हुने भन्ने विषयमा विभिन्न राजनैतिक दलहरुले विभिन्न अवधारणा बनाए तापनि सारमा सबैको उद्देश्य भने समान पाईन्छ । नेपालको सन्र्दभमा पूँजीवादी अर्थ व्यवस्था हुँदै समाजवादमा पुग्ने दृष्टिकोण भएको नेपाली काँग्रेस पनि यसको अवधारणामा भने प्रष्ट छैन ।

समाजवादको मुख्य आधार के हो भन्ने स्पष्टता नहुँदा नेपाली काँग्रेस पूँजीवादी अर्थ व्यवस्थाबाट नै समाजवादसम्म पुग्ने सकिने तर्क गर्दछ । के त्यो सम्भव छ त ? त्यसमा नेपाली काँग्रेसको प्रष्ट धारणा छैन । सारमा अनुकूलताको व्याख्यतामा नै नेपाली काँग्रेसले परिभाषा गर्दै आईरहेको छ ।

वर्गीय विभेद, वर्गीय मुक्तिको आन्दोलनले नै नेपाललाई साम्यवादमा पुरयाउन सकिनेमा कम्युनिष्ट पार्टीहरु रहेको पाइन्छ । जबसम्म वर्गीय विभेद रहन्छ तबसम्म साम्यवादको कल्पना पनि गर्न सकिँदैन भन्ने कम्युनिष्टहरु भने वर्गीय नाराबाट च्युत हुँदै गईरहेको पाईन्छ ।

विकास निर्माणको चरणको मुख्य बाधक देख्ने कम्युनिष्टहरु वर्गीय दृष्टिकोणबाट स्खलित हुँदै गइरहेको पाईन्छ । समाजमा दुई वर्ग रहेको हुन्छ, त्यो हो हुँदा खाने वर्ग र हुने खाने वर्ग । हुने खाने वर्गले जबसम्म हुँदा खाने वर्गलाई थिचोमिचो गर्दछ, तबसम्म समाज समृद्ध हुन सक्दैन, देश साम्यवादमा पुग्न सक्दैन ।

यसका लागि वर्गीय समानता पहिलो खुड्किलो हो भन्छ, तर यो सब नेपालको कम्युनिष्टहरुले वर्तमान सन्र्दभमा कति पालना गरेका छन् भन्ने कुराको प्रश्न अहंम बनेर आएको छ । अबको नेपालको राजनिती यहि विषयमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

वर्गीय विभेदको मुख्य नारा लिएर नेपालको राजनीतिमा प्रवेश गरेको माओवादी अहिले नेपालको राजनैतिक शक्तिको वर्गिकरणमा तेस्रो स्थानमा रहेको छ । हिजो जनयुद्ध हुँदै पहिलो संविधानसभामा पहिलो बनेको तत्कालीन माओवादी आजको समयमा आईपुग्दा तेश्रो शक्तिमा आईपुग्दा यसको जरो केलाउने दुस्साहस गर्यो कि गरेन होला ?

या त माओवादीले भन्दै आएको वर्गीय विभेदको आन्दोलनले सार्थकता पाईसकेको हो ? त्यसो भए अब के नेपालमा वर्गीय मुक्तिको आन्दोलन अबको दिनमा आवश्यक छैन ?

आजको समयमा आइपुग्दासम्म हुने खाने वर्गले हुँदा खाने वर्गलाई हेर्ने दृष्टिकोणमा समानता आएको हो त ? यो कदापि होइन । समाज परिवर्तन आफैँमा निरन्तर भएता पनि विकास श्रृंखला, जनताको आवश्यकता, चाहना र वर्गीय विभेद भने जहाँको त्यहीँ नै छ ।

देश नै पूँजीवादी अर्थ व्यवस्थामा जकडिएको सन्र्दभमा अब यसबाट बाहिर निस्केर जनवादी अर्थव्यवस्था र साम्यवादको आधारशिला खडा गर्नु त्यति सम्भव छैन, जुन नेपालका नेताहरुले पटक पटक भन्दै आएका छन् । हिजोका सन्र्दभमा गरिने व्याख्या र आजको नेताहरुको जीवनशैलीले देशमा साम्यवादको रोडम्याप हैन, चरम पूँजीवाद तर्फ समाज र देश धकेलिएको पाईन्छ । जुन जनताको चाहना होइन ।

हिजो सुकिला, मुकिला देशका बाधक हुन् भन्ने तत्कालीन माओवादीको अध्यक्ष प्रचण्ड, आज उही सुकिला, मुकिलासँग कम्मर मकाईरहेका छन् । यसले पनि पुष्टि गर्दछ, देश साम्यवादमा होइन, पूँजीवादमा उन्मुख हुदैछ । हिजो चर्को वर्गीय विभेदको नारा ओकल्नेहरु आज नव सामन्तीको रुपमा उदयीमान भएका छन् ।

व्यक्तिको राजनैतिक, त्याग, तपश्या, वलिदान र ईमान्दारिता हाइन, आर्थिक पक्षमा गएर बिलिन भएको छ । वर्ग विभेद छायामा परेको छ । नव उदारवादले प्रश्रय पाएको छ । समाजमा मात्र होइन, पार्टी, निर्वाचनमा नै अर्थले प्रश्रय पाएको छ ।

नेपालको सन्र्दभमा नेपालका कम्युनिष्ट पार्टीहरुमध्ये तत्कालीन माओवादी पनि यति धेरै विचारमा पतोन्मुख भईसकेको छ, कि अब उनीहरुले भन्ने वर्गिय मुिक्तको नाराले उनिहरु स्वयंमलाई नै गिज्याउने छ ।

अन्य कम्युनिष्ट पार्टीहरुमध्ये एमाले भने शान्तिपुर्ण संघर्षबाट नै साम्यवादमा पुग्ने सकिने लक्ष्य राखेको छ । यसमा सारमा भन्नुपर्दा नेपाली काँग्रेसको समाजवाद र साम्यवादमा तात्विक भिन्नता पाउन सकिदैन । दुवै राजनैतिक दलले पूँजीवादी अर्थ व्यवस्थालाई बढवा दिएको छ ।

जवसम्म दलाल पूँजीवादीलाई रोक्न सकिदैन, देशमा समाजवाद र साम्यवादको सपना देखाउनु भनेको जनतालाई मुर्ख बनाउनु शिवाय अन्य केही होइन । विभिन्न वादमा विभक्त नेपालको राजनिती भनेको जनमुखी होइन, नव उदारवाद पुँजीवादी व्यवस्था नै हो ।

जसले सर्वहारावर्गको होईन, नव उदार अर्थतन्त्रको वकालत गर्दछ । अतः नेपालको राजनीतिको मूल भनेको कम्युनिष्ट वा प्रजातन्त्र जे भने तापनि एउटै हो, अर्थात नव उदारवाद अर्थ व्यवस्था जसले पूँजीपति वर्गको मात्र उत्थान गर्दछ । नकि वर्गीय मुक्तिको ।

हिजो जसले क्रान्ति, वर्गीय विभेद, वर्ग संघर्ष, समानता र समावेशीको कुरा गर्दथे उनीहरु नै अहिले सभ्रान्त वर्गमा चित्रित छन् । अनुकुलताका लागि जता पनि बोल्न सक्ने नवशासक वर्गहरु जनतामा शासित बन्न भरमग्दुर अभिनयरत छन् । हिजो जुन नाराले आफुलाई जनतामा स्थापित बनायो ।

त्यही जनतामा शासित गर्न विभिन्न तत्वमार्फत सक्रिय बनेका छन् । विचार, दुष्टिकोण र परिवर्तन त नेताहरुको देखाउने दाँत बनेको छ । जुन आफूलाई प्रतिकुलताका लागि मात्र प्रयोग गर्दछन् । अनुकुलताका लागि त्यही साधन बनिदिन्छ ।

वर्गीय आन्दोलनको स्वरुप पनि परिवर्तन भएको छ । अनुकुलतामा व्याख्यात्मक टिप्पणी जस्तै । जुन नेताहरुका लागि अचुक अस्त्र बनेको छ । पार्टीमा नै हराउँदै गएको वर्गीय संघर्ष आर्थिक विकाससँग जोडिन पुगेको छ ।

व्यक्तिको राजनैतिक, त्याग, तपश्या, वलिदान र ईमान्दारिता हाइन, आर्थिक पक्षमा गएर बिलिन भएको छ । वर्ग विभेद छायामा परेको छ । नव उदारवादले प्रश्रय पाएको छ । समाजमा मात्र होइन, पार्टी, निर्वाचनमा नै अर्थले प्रश्रय पाएको छ ।

जुन नेपालको राजनीतिमा तरल अवस्था हो । व्यक्तिको चरित्र, योग्यता, क्षमता पनि पूँजीमा गएर जोडिएको छ । व्यक्तिको महत्वकांक्षा जसले गर्दा सभ्रान्त वर्गको उचो भएको छ भने निर्धनका लागि गलपासो बनेको छ । नेपालको राजनिती यही बिचको पेरिफेरिमा गुज्रिएको छ ।