
काठमाडौं, २१ चैत । सरकारले आन्दोलनरत पेट्रोलियम व्यवासायीलाई खुसी बनाउन सवारी साधनको भाडामा १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
आइतबारदेखि लागु हुने गरी सार्वजनिक गरेको बस भाडा वृद्धिसँगै सर्वसाधारणले महँगीको थप भार बेहोर्नुपर्ने भएको छ। सवारी साधनको भाडादर वृद्धि गर्दा सर्वसाधारण महँगीको चापमा परेका छन् ।
बजारमा दैनिक खाद्य वस्तुको महँगीले पिल्सिएका सर्वसाधारणलाई चुनावको मुखमा व्यवसायी खुसी बनाउन सरकारले बढाएको सवारी साधनको भाडाले थप मर्कामा परेको छ। सरकारले यात्रुवाहक सवारीका १० प्रतिशत वृद्धि गरेको छ भने पहाडी क्षेत्रमा १३ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन सवारीको १५ प्रतिशत वृद्धि गरेको छ । सवारी साधनमा सरकारले बढाएको भाडादरले सर्वसाधारणको दैनिकमा प्रत्यक्ष असर पर्नेछ। यसअघि काठमाडौंबाट बाजुरा जान २ हजार ५८२ रुपैयाँ तिर्नुपथ्र्यो भने अब २ हजार ८४० रुपैयाँ तिर्नुपर्ने छ।
यसैगरी विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयबाट ‘स्तरीय डिलक्स’ सवारीको रुपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्रमा स्तर– प्रमाणित भएका यात्रुबाहक सवारीमा हकमा २० प्रतिशत थप गरी भाडा लिन सक्ने बताएको छ । तराईको लामो दूरी २५० किलोमिटरभन्दा पक्की र ग्राभेड बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि यसअघि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ४३ कायम गरिएकोमा अहिले २ रुपैयाँ ६७ पैसा भाडादर कामय गरिएको छ ।
यस्तै यसअघि २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस मिनिबसका लागि प्रतिकिलोमिटर २ रुपैयाँ ४९ पैसा कायम थियो भने अहिले वृद्धि गरेर २ रुपैयाँ ७४ पैसा भाडादर कायम गरिएको छ। यस्तै काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डका लागि प्रतिकिलोमिटर २ रुपैयाँ ६७ थियो भने आइतबार सरकारले भाडादर वृद्धि गरी प्रतिकिलोमिटर २ रुपैयाँ ९४ पैसा कायम गरेको छ।
सार्वजनिक मालबाहक सवारी (ट्रक)को तराई र पहाडतर्फ यसअघि प्रतिकिलोमिटर प्रतिटन ६ रुपैयाँ १५ पैसा र ११ रुपैयाँ ९४ पैसा भाडादरबाट ७ रुपैयाँ ०७ पैसा र १३ रुपैयाँ ४९ पैसा कायम गरेको छ । सरकारले मालबाहक सवारीमा तराईमा १५ प्रतिशत र पहाडमा १३ प्रतिशत गरेको छ । व्यापारी तथा व्यवसायीको दबाबमा आएर सरकारले चालु आर्थिक वर्षको ९ महिनामा मात्र बस भाडा वृद्धि गरेको छ ।
यातायात व्यवसायीको चरम दबाबमा सरकारले गत २७ साउनमा यातायातको भाढा बनाएको थियो । सो समय डिजेलको प्रतिलिटर १०४ रुपैयाँ थियो । अहिले डिजेलको प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडादर समायोजन प्रणालीका आधारमा मूल्य समायोजना गरेको यातायात व्यवस्था विभागले जानकारी गराएको छ, आजको द नेपाल टप दैनिकमा कौशिला कुँवरले समाचार लेखेकी छिन् ।















प्रतिक्रिया