२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री स्वदेश फिर्ता, नेपाललाई भएन कुनै ठोस उपलब्धि, कहाँ चुके देउवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ । भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फिर्ता भएका छन् ।

नेपालमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मूलतः ४ एजेण्डा बोकेर गएका प्रधानमन्त्री देउवाले नेपालका निम्ति बलियो तवरले प्रस्तुत हुन नसकेको टिप्पणी हुन थालेको छ ।

यद्यपि प्रधानमन्त्री देउवाले नेपालमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग त भारत भ्रमणबारे कुनै छलफल गरेनन् नै तर आफ्नै पार्टीमा समेत रणनीतिक रुपमा छलफल गरेका थिएनन् ।

त्यही क्रममा प्रतिपक्षी दल एमालेका प्रचार विभाग प्रमुख विष्णु रिजालले प्रधानमन्त्री देउवा नितान्त पारिवारिक र व्यक्तिगत भेटघाटका लागि भ्रमण जाँदै गरेको टिप्पणी समेत गरेका थिए ।

त्यस्तै, देउवाको भ्रमणको केही दिन अघि भारतको प्राध्यापक एसडी मुनीले देउवा आफूलाई पुनः सभापति बनाउन भूमिका खेलेकोमा भारतलाई धन्यवाद भन्न आउन लागेको ट्वीटरमार्फत जनाएका थिए ।

सार्वभौम देशको प्रधानमन्त्रीले छिमेकी मुलुकको औपचारिक भ्रमण गरिरहँदा कुनै पार्टी विशेषको कार्यालयमा जानुले नेपालको कुटनीतिलाई आफैँले कुल्चिएको मात्रै नभएर समग्र विदेशनीति नै फितलो बनाएको  तथ्य उदांगो भएको छ ।

त्यस्तै, निर्वाचनको संघारमा भएको उनको भारत भ्रमणले पुनः नेपालको राजनीतिमा भारतको ठाडो हस्तक्षेप हुने आंकलन समेत गरिएको छ । कतिपयको त समयमै स्थानीय तहको निर्वाचन समेत नहुनेमा आशंका समेत व्यक्त हुन थालेको छ ।

चैत १८ गते नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवा आफ्नो ओहदा र प्रोटोकलको ख्यालै नगरी भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका थिए । त्यसको चौतर्फी विरोध भयो ।

सार्वभौम देशको प्रधानमन्त्रीले छिमेकी मुलुकको औपचारिक भ्रमण गरिरहँदा कुनै पार्टी विशेषको कार्यालयमा जानुले नेपालको कुटनीतिलाई आफैँले कुल्चिएको मात्रै नभएर समग्र विदेशनीति नै फितलो बनाएको  तथ्य उदांगो भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खरिद गरेर राखेको तथा चल्ने क्रममा रहेको रेललाई देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । तर त्यसका लागि भारत नै किन जानुपर्ने भन्ने कोणबाट पनि टिप्पणीहरु हुन थालेका छन् ।

त्यसैगरी, नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपालको कालापानी, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा हटाइनुले नेपालको शीर निहुरिएको अनुभूति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा कडा आपत्ति जनाउँदै किन नयाँ नक्सा हटाइयो भनि प्रश्न समेत सोधेका छन् । प्रधानमन्त्री देउवाले भारत गएर नेपालको राष्ट्रियता, अखण्डतामा आँच आउने कर्म गरेको ओलीको भनाइ छ ।

त्यस्तै, उनले समकक्षी मोदीसँग भेटवार्ता गरे । त्यस क्रममा नेपाल भारत सीमा विवाद समाधानको कुरा उठाए पनि आफ्नो कुरामा दम र अडान नहुँदा देउवाको प्रस्तावलाई भारतले बेवास्ता गरेको प्रष्टै भएको छ ।

भारतीय विदेश मन्त्रालयका सचिवले सीमा विवादलाई राजनीतिकरण गरिएको भन्दै दुवै पक्षले इग्नोर गर्नुपर्ने प्रतिक्रिया दिनुले मोदीले देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गरेको आभास हुन्छ ।

जुन मुद्दामा नेपाल र नेपालीको हितको निम्ति जिम्मेवार भएर नेपालका राजनीतिक दलहरुबाट सर्वसम्मत नेपालका तर्फबाट आधिकारिक धारणा एवम् प्रस्ताव लिएर प्रस्तुत हुनुपर्नेमा व्यक्तिगत जस्तै देखिने देउवाको भ्रमणले नेपाललाई के हुन्छ पछि परिणाम देखिँदै जाला । तर देउवालाई भने राम्रै मसला मिलेको विश्लेषकहरुको तर्क छ ।