
काठमाडौं, २० चैत । जलेश्वर नगरपालिकाका रामवरण यादव तेस्रो लिङ्गी हुन् ।
स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली टिपाउँदा उनले आफ्नो लैङ्गिक पहिचान स्पष्ट खुलाएर फाराम भरे । तर अन्तिम नामावली आउँदा उनलाई निर्वाचन आयोगले पुरुष बनाइदिएछ ।
नीलहीरा समाज महोत्तरीका अध्यक्षसमेत रहेका सत्यनारायण साहले पनि नामावलीमा आफू तेस्रो लिङ्गी भएको खुलाए । तर आयोगले उनलाई पनि पुरुष लिङ्गकै रूपमा पहिचान दिएर परिचय पत्र थमायो । महोत्तरीस्थित नीलहीरा समाजका अनुसार जिल्लामा ९ हजार ५०० बढी तेस्रो लिङ्गी छन् ।
मतदाता नामावली सङ्कलनको क्रममा पनि सबैले तेस्रो लिङ्गी भनेरै फाराम भरे। तर आश्चार्यलाग्दो तथ्याङ्क ! जिल्लाका १५ स्थानीय तहका कुल ३ लाख ३६ हजार ९५ जना मतदातामध्ये एक जनाले मात्र मतदाता नामावलीमा तेस्रो लिङ्गीको पहिचान पाए। बर्दिबास– ८ का बुद्धबहादुरलाई मात्र निर्वाचन आयोगले तेस्रो लिङ्गीको पहिचान दिएपछि जिल्लाका तेस्रो लिङ्गीले आपत्ति जनाएका छन् ।
९ हजारभन्दा बढीले आफू तेस्रो लिङ्गी भएको भन्दै मतदाता नामावलीमा नाम टिपाए पनि बुद्धबहादुरले मात्र किन आफ्नो पहिचानसहितको मतदाता नामावली पाए भन्ने विषय नीलहीरा समाजमा यतिबेला बहसमा छ ।
जलेश्वरस्थित नीलहीरा समाजमा आबद्ध यादव संविधान प्रदत्त आफ्ना अधिकारलाई निर्वाचन आयोगले कुण्ठित गरेको भन्दै आक्रोसित छन्। ‘हामी आफै तेस्रो लिङ्गी हौँ भनेर खुलेर आइरहेका छौं, हामीलाई महिला र पुरुष बनाउने अधिकार निर्वाचन आयोगलाई कसेले दियो ?’ उनको प्रश्न छ। प्रकृतिले महिला, पुरुष र तेस्रो लिङ्गी निर्माण गरे पनि आयोगले जबरजस्ती महिला या पुरुषमा रूपान्तरण गरिदिएकोमा उनीहरु आक्रोसित छन्, आजको द नेपालटप दैनिकमा महोत्तरीबाट विशाल बस्नेतले समाचार लेखेका छन् ।















प्रतिक्रिया