७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवाको भारत भ्रमणः ओली कुटनीतिविपरितको लम्पसारवादी शैलीका ५ बुँदा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत। शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लम्पसार’ कुटनीतिलाई प्रश्रय दिएका छन्। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको समान कुटनीतिक सम्बन्धको प्रयत्नको हुर्मत लिँदै ‘प्रोटोकल’को ख्याल नगरेका देउवाले पहिलो भेट नै सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयबाट सुरु गरेका छन्।

सामान्यतया प्रधानमन्त्रीका हैसियतमा गरिएको भ्रमण शिष्टाचार भेटवार्ताबाट हुनुपर्ने थियो। भ्रमणका लागि पुगेको मुलुकका दलका नेताले शिष्टाचार भेटका निम्ति अतिथि बासस्थानमा आउनुपर्ने भए पनि प्रधानमन्त्री देउवा आफैं भाजपाको पार्टी कार्यालयमा चार मन्त्रीसहित पुगेका थिए।

कतिपयले प्रधानमन्त्री देउवाले लम्पसार कुटनीति सुरु गरेको बताएका छन्। भाजपाका अध्यक्ष जेपी नड्डासाग भेट गरेका थिए। सो भेटमा देउवाले नेपालमा गठबन्धनको राजनीति सुरु भएको भनी जानकारी दिएका थिए। नड्डाले पनि उक्त संस्कृतिलाई स्वागत गरी सहयोगको वाचा गरेका थिए।

ओली नेतृत्वको सरकार भारतसँग कुटनीतिक भाइचाराका आधारमा मात्र अघि बढेको थियो। चीनसँग पनि समान सम्बन्ध कायम राखेको ओली सरकारका पालामा कुटनीतिक मर्यादाको भ्रमण कायम गरिएको स्मरणीय छ।

प्रधानमन्त्री देउवाले भाजपासँग नेपाली कांग्रेसको सम्बन्धलाई सुधार गर्नका लागि भाजपाको पार्टी कार्यालयबाट भ्रमण सुरु गरेको बताइन्छ। यद्यपि देशकै प्रतिनिधित्व गरेर नयाँ दिल्ली पुगेका देउवाले त्यसो गर्न हुने या नहुने भन्ने विषयमा बहस सुरु भएको छ। प्रधानमन्त्री देउवाले सुरु गरेको यो संस्कारबारे ५ बुँदामा व्याख्या गरिएको छ।

भाजपासँग आत्मसमर्पण

नेपालमा चुनावी माहौल चलिरहेका बेला भारतमा दबदबा राखिरहेको सत्तारुढ पार्टीको मुख्यालयमा प्रधानमन्त्री देउवा पुग्नुलाई भाजपासँग आत्मसमर्पण गरेको अर्थमा बुझिएको छ। समान कुटनीतिक परम्परालाई कायम नराखी असंलग्न नीतिको सांकेतिक उपेक्षा प्रधानमन्त्री देउवाले गरेका छन्। कुटनीतिक मामला जानकार एक विज्ञ भन्छन्,‘यो संस्कृति राम्रो भएन। भेटवार्ता हुनु स्वभाविक मानिन्छ तर कुनै अमुक पार्टीको कार्यालयमा देशको प्रतिनिधित्व र नेतृत्व गर्दै पुगेका प्रधानमन्त्रीको दौडाहा ठिक भएन।’

त्यहाँमाथि गठबन्धन सरकारका मन्त्री समेतलाई लिएर देउवा त्यसरी पुग्नुलाई ठोस अर्थका रुपमा बुझ्न कठिन हुने बताइन्छ। ‘कुनै पार्टीको नेताका रुपमा नभई देउवाजी प्रधानमन्त्रीका रुपमा त्यहाँ पुग्नु भएको हो। देशको बिम्बका रुपमा भ्रमण हुनुपर्ने थियो त्यसो हुन सकेन’, ति विज्ञ भन्छन्,‘यस्ता भेटलाई भारतले लम्पसार परेको भन्ने अर्थमा त बुझ्छ नै बाँकी देशहरूले अर्थ लगाउने तरिका फरक हुन्छ।’

इपीजीको सवालै छैन

नेपाल–भारतका सन्धी र सम्झौताको पुनरावलोकन गर्नका लागि गठित दुई देशीय उच्च स्तरीय सम्बन्ध (इपीजी)का विषयमा प्रधानमन्त्री देउवाले कुनै सवाल गरेका छैनन्। विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्दा पनि उनले उक्त सवाल नउठाएको भ्रमण दलमा सहभागी एक सदस्यले बताएका छन्। ‘पारस्परिक सम्बन्ध राम्रो बनाउन आएको भन्नेचाहिँ कुरा भयो, इपीजी प्रतिवेदनबारे कुराकानी भएन’, ति सदस्य भन्छन्,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पनि उक्त विषयको उठान हुने सम्भावना क्षीण छ।’

भारतीय प्रधानमन्त्री मोदीले उक्त प्रतिवेदन बुझेका छैनन्। ओली सरकारका पालामा भएको पुनरावलोकनसम्बन्धी प्रतिवेदन मोदीले नबुझ्दा नेपाल–भारतका सन्धी सम्झौताका विषयमा खासै काम हुन सकेको छैन। तत्कालिन प्रधानमन्त्री ओलीले भने उक्त प्रतिवेदन बुझेका थिए।

चुच्चे नक्शाको प्रश्न छैन

ओली प्रधानमन्त्री हुँदा पहिलो पटक नेपालको प्रतिनिधि सभामा नयाँ नक्शा पारित भएको थियो। चुच्चे नक्शाका रुपमा चर्चा गरिएको उक्त विषयमा देउवाले कुनै सवाल नगर्ने बताइएको छ। भारतीय प्रधानमन्त्री मोदीले दार्चुलालगायत लिपुलेक लिम्पियाधुरामा सडक विस्तारको काम भएको बताएपछि झारो टार्न सामान्य विज्ञप्ति निकालेको देउवा सरकारले उक्त विषयमा गहन प्रश्न नउठाउने भएको छ।

जबकि, नक्शा जारी गर्दै ओलीले नेपाली भूभागमा भारतीय हुकुमवाद नचल्ने बताएका थिए। प्रतिनिधि सभामा उभिएर ओलीले दिएको उक्त अभिव्यक्तिपछि उनको भारतमा ठूलो आलोचना भएको थियो। भाजपा समर्थकले ओलीको पुत्ला दहन गरेका थिए भने कतिपय भारतीय सेनाका पूर्व जनरलहरूले धम्की समेत दिएको अन्तरवार्ता भारतीय टेलिभिजनमा प्रशारण गरिएको थियो।

समानता होइन, योङ्गर ब्रदरको शैली

प्रधानमन्त्री देउवाले समानताको सम्बन्ध कायम गर्न नसकेको पनि टिप्पणी भएका छन्। तत्कालिन प्रधानमन्त्री ओलीले समानताको सम्बन्ध कायम गर्नुपर्ने भन्दै नाकाबन्दी लगाएका बेला भारत भ्रमणमा नजाने घोषणा गरेका थिए। भारतले नाकाबन्दी खोलेपछि मात्र ओलीको कुटनीतिक भ्रमण भएको थियो।

नाकाबन्दीका बेला एक शव्द पनि नबोलेका देउवाले भारतलाई बिग ब्रदरका रुपमा मात्र लिएको उनको भ्रमणको सुरुआतबाट नै पुष्टि भएको कुटनीतिक मामला जानकार बताउँछन्। ‘देशको सीमा ठूलो होस् या सानो, आर्थिक व्यवस्ता जस्तोसुकै होस् तर छिमेक सम्बन्ध भनेको समान राख्न देशको कार्यकारी प्रमुखको भूमिकामा भर पर्छ, प्रधानमन्त्री देउवाले त्यस्तो देखाउन सकेका छैनन्’, उच्च स्रोतले भन्यो।

सिंहदेव जयतेको शैली

‘भारतले भन्ने गरेको सत्यमेव जयते हो कि सिंहदेव जयते हो? अब त्यो चल्दैन, समान सम्बन्ध कायम हुनुपर्छ, हामी कुटनीतिक रुपमा समानता चहान्छौं’, तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको रोष्टममा भनेका थिए,‘हामी सबै छिमेकीसँग समानताको आधारमा सम्बन्ध कायम राख्न चहान्छौं।’

तर देउवाले भने त्यसलाई कायम राख्न सकेनन्। गठबन्धन सरकार बनाउनका लागि अप्रत्यक्ष रुपमा भूमिका खेलेका कारणले पनि देउवाले भारतीय अधिकारीसामु प्रोटोकलको वास्ता नगर्दा उक्त सन्देशात्मक अर्थ लागेको हो।

पत्नी आरजु राणा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जामन्त्री पम्फा भूसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्र राय यादवसहितको टोली लिएर नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले भारतलाई फकाउनका लागि यस्तो रणनीति अपनाएका हुन्। सरकार बन्नासाथ देउवापत्नी राणाले भाजपा प्रवक्ता विजय चौथाइवालेलाई रक्षाबन्धन बाँधेकी थिइन्। प्रधानमन्त्री निवास बालुवाटारको उक्त प्रकरण बिख्यात भएको थियो। त्यसैको निरन्तरताका रुपमा देउवाको कुटनीतिक भ्रमणले यस्तो रुप पाएको बताइन्छ।