२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीको भारत भ्रमण : निकटता देखाउन ‘उत्ताउलो’ कूटनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीतिक सीमा नाघेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दिल्ली पुगेका देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगेर राजनीतिक भेटवार्ता गरेका छन्। दिल्ली पुगेकै दिन शुक्रबार अपराह्न देउवा भारतीय सत्तारूढ दल भाजपा कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीका रूपमा भएको यो भ्रमण राजनीतिक दलका नेताको झैं भएको र कूटनीतिक मर्यादा विपरीत भएको विज्ञहरूको ठहर छ। प्रधानमन्त्रीको यो शैलीले कूटनीतिक सीमा नाघेको एक पूर्वराजदूतले बताए ।

‘अहिले कांग्रेस सभापतिको भारत भ्रमण होइन, प्रधानमन्त्रीको हो, त्यसैले राजनीतिक पार्टीका कार्यालय पुगेर भेटवार्ता गर्नु सरासर कूटनीतिक अभ्यास विपरित हो’, उनले द नेपालटपसँग भने। भारतको राजकीय भ्रमणमा गएका कुनै पनि प्रधानमन्त्रीले यसअघि दलको कार्यालय पुगेर भारतीय नेतासँग भेटवार्ता गरेका थिएनन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालमा आएर कुनै पनि दलको कार्यालयमा पुगेर नेताहरूसँग भेटघाट गरेका छैनन् । भाजपा अध्यक्ष जेपी नड्डाले देउवालाई पार्टी कार्यालयमा स्वागत गरेका थिए । देउवाले पार्टी कार्यालमा भाजपा पदाधिकारीसँग भेटवार्ता गरेका छन्। तर, कूटनीतिक मामिलाका जानकार एवं डेनमार्कका लागि पूर्वराजदूत प्राडा विजयकान्त लाल कर्ण भने यसलाई नौलो मान्न नहुने बताउँछन्। नेपालका प्रधानमन्त्री र उच्च अधिकारीहरू चीन भ्रमणमा जाँदा चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीहरूसँग भेट्ने गरेको प्रसंगलाई पनि स्मरण गर्नु जरुरी भएको उनले बताए ।

‘अहिले हाम्रा प्रधानमन्त्री बीजेपी कार्यालय पुग्दा नौलो झैं लाग्यो, तर चलनमा नभएको भने होइन। बीपी कोइराला प्रधानमन्त्री भएका बेला उहाँका भारतीय मित्र तथा समाजवादी नेता राममनोहर लोहियालाई भेट्न लोहिया निवासमै पुग्नु भएको थियो’, कर्णले भने । विगतमा कंग्रेस आईको राजनीतिक प्रभाव रहेका बेला नेपालका प्रधानमन्त्री, मन्त्रीहरू कंग्रेसका नेतासँग नियमित भेटवार्तामा रहने गरेका र अहिले बीजेपी भारतको बलियो राजनीतिक दल रहेकाले अहिले देउवाले पार्टी कार्यालयमा भेटवार्ता गरेका हुन सक्ने उनको ठहर छ ।

भारतसँगको सम्बन्ध सुधार्न भाजपा कार्यालय पुगेका देउवाले राजनीतिक फाइदाका लागि कूटनीतिक सीमा तोड्न नमिल्ने, देशको हितमा भ्रमण केन्द्रित हुनुपर्ने र यो शैलीलाई सामान्यरूपमा लिन नहुने विज्ञहरूको सुझाव छ । चिनियाँ कम्युनिस्ट पार्टी र सो पार्टीका नेताहरूसँग नेपाली कांग्रेस नेताहरूको निकट सम्बन्ध ‘खासै नजिक’ नभए पनि नेपालका कम्युनिस्ट पार्टीहरूको सम्बन्ध निकट रहेको कर्ण बताउँछन्, आजको द नेपालटप दैनिकमा टीका बन्धनले समाचार लेखेका छन् ।