२८ आश्विन २०८३, बुधबार

स्थानीय तहमा सत्तारूढ तालमेलः माछो-माछो भ्यागुतो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्थानीय तहको दोश्रो निर्वाचन जति जति नजिकिदैछ, त्यति त्यति राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ ।

देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विरूद्ध नेपाली काङ्‌ग्रेसलगायत दलहरू मोर्चाबन्दी गर्दैछन् । नेकपा(एमाले)ले स्थानीय तहको निर्वाचन लक्षित सङ्‌गठन सुदृढीकरण र प्रचारात्मक भेला र सभाहरू राष्ट्रव्यापी सञ्चालन गरिरहेको छ भने परमादेशी सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा एमालेसंग प्रतिस्पर्धा कसरी ग्रने भन्नेमै बालुवाटारमा माथापच्ची गरिरहेको छ ।

सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेस गठबन्धन दललाई केही सीट दिएर सबै आफैं लिने दाउमा छ भने माओवादी केन्द्र, माधव समूह र मधेशवादी दलहरू नेपाली कांग्रेसको भोट लिएर बढीभन्दा बढी सीट जित्ने रोड्याईंमा छन् ।

निर्मल भट्टराई

नेपाली काङ्ग्रेस स्थानीय तहमा गठबन्धन दलहरूको प्रभावलाई आङ्‌कलन गरेर स्थानीय तहमै तालमेलको प्रयासमा छ भने माओवादी लगायतका साना बामपन्थी दलहरू तलसम्मको प्रभाव मुल्याङ्‌कन नगरी माथिबाटै ७५३ वटा स्थानीय तहको भागबण्डा गर्नु पर्ने पक्षमा छन् । साना बामपन्थी दलका स्थानीय तहका धेरै नेता-कार्यकर्ताहरू एमालेतिर धमाधम समाहित हुदै गर्दा नेपाली काङ्‌ग्रेसले भनेजस्तो प्रभाव मूल्याङ्‌कन उनीहरूलाई पीडादायी हुनसक्छ ।

सत्ता गठबन्धन दल ‘जोगी देख्दा भैंसी तर्सने, भैंसी देख्दा जोगी तर्सने’ हालतमा छन् । सत्तामा सामेल साना बामपन्थी दललाई नेपाली काङ्‌ग्रेसले माथिबाटै सीट छुट्याइ दिएर भोट दिएर जिताइ नदेलाकि भन्ने भयङ्‌कर भय छ । उता नेपाली कांग्रेसलाई प्रभाव नै नभएको ठाउँमा माओवादीलगायतका दललाई मत दिनु पर्लाकि भन्ने भय छ ।

नेपाली काङ्‌ग्रेसको सबभन्दा ठूलो डर त विगतमाझैं रातारात एमाले-माओवादी तालमेल वा गठबन्धन होला र आफूलाई पत्तासाफ गर्लान् कि भन्ने नै हो । एमाले र माओवादीका हालै सम्पन्न चीन भ्रमणलाई लिएर उसले छिमेकी चीन नेपालका बामपन्थी दललाई मिलाउन खोजेको शङ्‌का गरेको छ ।

‘एमाले-माओवादीलाई मिलाउन शक्ति केन्द्र लागिरहेको’ भन्ने टिप्पणी नेपाली काङ्‌ग्रेसका नेताहरू गरिरहेको सन्दर्भमा सो पार्टी माओवादी लगायतका सत्तारूढ दललाई अल्मल्याउने रणनीतिमा लागेको छ । हरेक पालिकामा सत्तारूढ दलको सन्यन्त्र बनाएर आ-आफ्नो पार्टीको प्रभाव मूल्याङ्‌कन गरेपछि मात्र गठबन्धनको बीचमा तालमेलको अन्तिम टुङ्‌गो लाग्ने भएको छ ।

प्रचण्ड र माधवको टेन्सन अर्कै छ । आफ्ना नेता-कार्यकर्ता दिन प्रतिदिन नेकपा (एमाले)मा समाहित हुने लर्को लागेको छ । तालमेलको अलमलले सबभन्दा भढी घाटा उनीहरूलाई हुने भएको छ । ती पार्टीका पालिकास्तरका र कतिपय जिल्लास्तरका सबै नेता-कार्यकर्ता एमालेमा समाहित भइसकेको अवस्थामा स्थानीयस्तरमा बन्ने भनिएको सत्ता गठबन्धनको सन्यन्त्रमा नेपाली काङ्‌ग्रेस हावी हुने र उसले बनाएको रिपोर्टको आधारमा केन्द्रमा तालमेलको प्रयास हुने भएपछि माधव र प्रचण्ड र माधवलाई तालमेल मुखमा हालेको तातो पिँडालु भएको छ ।

ठूलो भाग खान एकीकृत भइसकेको कम्युनिष्ट आन्दोलनबाट भागेर नेपाली कांग्रेसको शरणमा पुगेका माधव र प्रचण्ड एकपछि अर्को दलदलमा फस्दै गएका छन् । कम्युनिष्ट सिद्धान्त, आदर्श र वर्गीय पक्षधरता त्यागेर केही थान मन्त्री पदको लागि विजातीय गठबन्धनतिर लागेका उनीहरू नेपाली काङ्‌ग्रेसको उप-ग्रहसरह बनेका छन् ।

स्थानीय तहमा गठबन्धन गरेर आफ्ना केही नेता-कार्यकर्तालाई जिताउने सर्तमा नेपाली काङ्‌ग्रेसको इच्छाबमोजिम एमसीसीमा आखाँ चिम्लेर ल्याप्चे लगाएका प्रचण्ड र माधवलाई आगामी स्थानीय तहको निर्वाचनमा उसले ‘माछो माछो भ्यागुत्तो’ गर्ला कि भन्ने चिन्ता व्याप्त छ ।

वास्तविक रूपमा नेपाली काङ्‌ग्रेस माओवादी केन्द्र र अरू समूहसंग देशभर तालमेल गर्ने पक्षमा देखिंदैन । सकेसम्म आफ्ना मतदातालाई अरू पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगाउने पक्षमा छैन । अर्थात् नेपाली काङ्‌ग्रेस अत्यन्त थोरै दिएर अधिकांश आफैंले राख्ने दाउमा रहेको प्रष्ट हुन्छ । ऊ खासगरी प्रचण्डको डोलायमान चरित्रसंग सशंकित छ । उसको अर्जुनदृष्टि नै प्रचण्ड एमालेसंग ननजिकिउन् भन्ने रहेको छ । माधव नेपाललाई त देउबाले महत्व दिएकै छैनन्। किनभने उनीहरूको भुईं लगभग बढारिएको छ । र, माधव नेपाल तत्काल एमालेको दैलो चाहार्दैनन् भन्नेमा देउबा ढुक्क देखिन्छन् ।

स्थानीय तहको प्रथम निर्वाचनभन्दा दोश्रो निर्वाचनको राजनीतिक सन्तुलनमा फेरबदल आएको छ । देशका अधिकांश बाम मतदाता एकगठ बनाउन सफल एमाले विगतभन्दा निकै मजबुत बनेको छ । अधिकांश स्थानीय तहमा सत्तारूढ गठबन्धन जनसमर्थनको हिसाबले र तयारीको हिसाबले कमजोर छ ।

एमालेले विगतमा गरेका देशको पक्षमा गरेका युगीन महत्वका कामको आधारमा जनताले मत खसाएको खण्डमा प्रचण्ड र माधवको हुर्मत हुनेमात्र होइन, नेपाली काङ्‌ग्रेस पनि निक्कै खुम्चने आँकलन गर्न सकिन्छ ।