
नेपाली फिल्म उद्योगमा करिश्मा केसीदेखि मानन्धरसम्म हुँदै ‘सदाबहार’ पगरी पाएकी उनै महिलालाई टिप्पणीकारले लगभग ६ बर्षअघि अन्तरवार्ता लिएको थियो। त्यसबखत उनी राजनीतिको नयाँ विन्दूमा भर्खर प्रवेश गरेकी थिइन्– नयाँ शक्तिमार्फत्।
त्यसपछि समाचारमा देखेको छ, साक्षात्कार हुन पाएको छैन।
बोलीमा प्रष्टता, उत्तर दिने कुशल शैली र आफूले गरेको कर्मप्रति जिम्मेवार व्यक्तित्व निर्माण गरिसकेकी करिश्मा मानन्धरले कुनै गसिपवाला कार्यक्रममा अन्तरवार्ताकारले ‘तपाईको प्रेमी थिए?’ भनेर सोध्दा भनेकी थिइन्– मेरी छोरी कबिता यति ठूली भइसकेकी छन्, मैले यस्ता प्रश्नको जवाफ दिँदै हिँड्ने?
स्वभाविक रुपमा कलाकारका गसिप बन्छन्। तर, उत्तर दिने कौशलता भनेको असाधारणसँग मात्र हुन्छ। अभिनयको दुनियाँमा तीन दशक बढी बिताएर योगदान गरेकी करिश्माको राजनीतिक यात्रालाई आश्चर्यलाग्दो र टिप्पणीयुक्त किन बनाइँदैछ? यो त स्वभाविक होइन र? जीवनभर कलाकारिता गरेका बलिउड अभिनेत्री जया बहादुरी, हेमा मालिनि जस्ता व्यक्ति कुशल राजनीतिज्ञ बन्न सक्दा करिश्माको यात्रालाई अनौठो मान्नु आवश्यक छैन।
बरु उनले कस्तो काम गर्लिन्? के–के गर्नुपर्छ? राजनीतिलाई सफा र पारदर्शी बनाउन करिश्माको योगदान कसरी पूर्ण बनाउन सकिन्छ भन्ने चर्चाचाहिँ महत्वको होइन र?
राजनीतिको कखराका दौरान उनी विभिन्न जिल्लाका पार्टी बैठक र प्रशिक्षणमा सक्रिय भइन्। विचार र योजनाका विषयमा विस्तारै जानकार बन्न थालिन्। सिकाई अधुरो भयो। उनी औपचारिक अध्ययनका निम्ति लम्किन्।
र, उनी फेरि राजनीतिमा सक्रिय छिन्– नेकपा एमालेको रोजाईसँगै।
नयाँ शक्ति नेपालमा करिश्माको प्रवेश त्यति धेरै चर्चा र आलोचना भएन। तर जब उनी एउटा ठूलो पार्टीको छहारीमा पुगिन् एमालेविरोधीले उनका ट्रोल बनाउन थाले। यति मात्र होइन यहि मौकामा करिश्मालाई नरुचाउने कतिपयले ‘सुर्जेकुमारी’ भनी होच्याएर ट्रोल बनाउन थाले।
राजनीति सहज र सरल मार्ग होइन। असल राजनीतिज्ञ बन्न र त्यसको बाटो समात्न खोज्दा यस्ता स–साना आलोचना र गसिप बन्छन्। करिश्माले यी सबै बुझेकी छन्। आलोचना र गसिपका कतिपय अनुभवबाट खारिएर राजनीतिको पाइला टेकेकी उनलाई स्कुल जाँदासमेत खिसिट्युरी नगर्नेचाहिँ थिएनन्।
चुनाव पनि नजिक भएका बेला धेरै विषयमा करिश्माले आफूलाई अब्बल बनाउन आवश्यक हुनेछ।
करिश्माले एमाले पार्टीको सिद्धान्तलाई त अंगीकार गरेकी छन्। उनी सिधा नेतृत्वको पहुँचमा रहेको, कार्यक्रमको आकर्षण भएका कारणले मात्र होइन मुलुककै प्रतिष्ठित कलाकार पनि रहेकाले आफूले अँगालेको पार्टीका विधान, पद्धतीदेखि बहुपदीय मर्यादाको विषयमा ख्याल गर्नुपर्छ। सामाजिक सञ्जालमा यतिबेला एमालेविरूद्ध घेराबन्दी गर्न उद्दत गठबन्धनका फ्याउराहरूले खिसिट्युरी सुरु गरेका छन्, जुन बहसको विषय होइन। तर, यस्ता प्रकारका नकारात्मक टिप्पणीले चुनावको मुखमा आम जनतामा ‘क्विक’ धारणा बनाउन सहयोग गर्छ जसले केही न केही प्रतिशतमा हानि हुन्छ नै।
पृथ्वीको सबैभन्दा अल्पसंख्यक भनेको स्वयम् व्यक्ति हो। त्यो व्यक्तिको अधिकार र स्वतन्त्रताको सम्मान जसले गर्न सक्तैन, रक्षा गर्न सक्तैन त्यसले कुनै अल्पसंख्यक समुदायको अधिकारको नेतृत्व गर्नै सक्तैन। यसर्थ पनि करिश्माको व्यक्तिगत राजनीतिक अधिकारमाथि जस–जसले आलोचना गरिरहेका छन् तिनले कुनचाहिँ अल्पसंख्यकको अधिकारको रक्षा गर्लान्?
राजनीतिमा हाम फालेको मान्छेले सिद्धान्त र अवसर दुवैको खोजी गर्छ। जसरी डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण गर्दै जनता समाजवादी पार्टीसम्म पुगेका छन् त्यसरी करिश्मा डुलेकी छैनन्। नयाँ शक्तिको बिलयसँगै उनले राजनीतिलाई थाँती राखिन्, अध्ययन गरिन्। राजनीतिलाई बुझिन्। अवस्थालाई परखिन्। नियाँलिन्। र, एउटा कठोर तर उत्कृष्ट निर्णय लिँदै एमालेमा प्रवेश गरिन्। यसमा टाउको दुखाउनुपर्ने र आलोचना गर्नुपर्ने केही देखिँदैन। अहिले जसरी एमालेविरोधी करिश्माको पार्टी प्रवेशको खिसिट्युरी गरिरहेका छन् तिनका नेताले कति पार्टी चहारेर यहाँसम्म आइपुगेका हुन् भन्नेचाहिँ हेक्का राख्न आवश्यक हुन्छ। राजनीतिमा लागेकी महिला र रंगिन दुनियाँबाट आएको भन्दैमा टिप्पणी गर्नेहरूमाथि प्रतिप्रश्न पनि हुन्छन्। रेखा थापाहरूसँग नाचेका नेताले बनाएको सिसाको घरमा बसेर ढुंगा किन हानिरहेका छौ है ‘नक्कली कमरेडहरू!’ भन्ने प्रश्न मृत छैन।
प्रश्न समया हुनेछन्। त्यसअघि एउटा सन्दर्भ राखौं–
अमेरिकी कमेडियन कलाकार रोबर्ट अर्बनले गम्भिर रुपमा भनेका छन्– अनैतिक गठबन्धनले अमेरिकामा जहिल्यै पनि समस्या मात्र दिएको छ, कुनै भारतीयलाई सोध त? अहिले नेपालमा बनाइएको गठबन्धन पनि कमेडियन कलाकार अर्बनले भनेजस्तै प्रकृतिमा चलिरहेको छ। यो समस्या माथि समस्या ल्याउनका लागि बनेको गठजोडले संविधान मिचेर अध्यादेश ल्याएर एमाले फुटायो पहिलो अनैतिक काम त्यहिँनेर भएको थियो। अर्कोचाहिँ सडकमा पनि आन्दोलन गरी सदनमा एमसीसी पास गरायो। द्वेध मानसिकता र गन्तव्य टुंगो नलागेको यो गठबन्धनका कारणले अब भारतीयलाई होइन, नेपालीलाई सोध्दा अर्बनको भनाईले सार्थकता पाउनेछ। तर गठबन्धनसँग आवद्ध भएका दलका कार्यकर्ता भने एउटी खारिएकी अभिनेत्रीको एमाले प्रवेश र अभियानमा हिँड्नुलाई अनर्थका रुपमा व्याख्या गर्छन्। यीनले कुन लोकतन्त्रको कुरा गर्छन् होला?
कमरेड करिश्मा,
राजनीतिको फरक लयको यात्रामा लाग्दा र सम्बोधनमा केही त्रुटी हुन सक्छन्। ति सच्याएर विचारलाई प्रश्रय दिँदै जाने हो। हात्ति बजार हिँड्दा अनेक कुकुर भुक्दैगर्छन् तर उसले आफ्नो गन्तव्यमा पुग्ने लयको गति छाड्दैन।
मदन भण्डारीले विस्तार गरिदिएको लेलिनवादी संगठनात्मक संरचनाको माक्र्सवादी चिन्तनको बाटो समाजवादी क्रान्तिको आधारसँग जोडिन्छ। समानता, समता, विकास र न्यायका निम्ति जनताको बहुदलीय जनवादको मार्गमा निरन्तर हिँडिरहँदा, त्यसमा सफलता पाउँदा आलोचनाको आँखीझ्यालतिर ख्याल नगरौं। बस, यात्रा हो यसलाई सफलताको कसीमा बाँधिसकेपछि मात्र विश्राम लिनुपर्छ।
परिवर्तनका नाममा जनताको सर्वस्व हरण गरी, देशलाई अँधोगतितिर लग्दै सत्तामा तर मार्नेहरू एक ठाउँमा उभिन सक्छन् तर विकास र जनआकांक्षा, सपनाहरूको यात्राले किञ्चित विचलित हुन मिल्दैन। यो यात्रामा कमरेड करिश्मा सक्रियता देखाउने कुरामा कुनै द्विविधा छैन।
पृथ्वीको सबैभन्दा अल्पसंख्यक भनेको स्वयम् व्यक्ति हो। त्यो व्यक्तिको अधिकार र स्वतन्त्रताको सम्मान जसले गर्न सक्तैन, रक्षा गर्न सक्तैन त्यसले कुनै अल्पसंख्यक समुदायको अधिकारको नेतृत्व गर्नै सक्तैन। यसर्थ पनि करिश्माको व्यक्तिगत राजनीतिक अधिकारमाथि जस–जसले आलोचना गरिरहेका छन् तिनले कुनचाहिँ अल्पसंख्यकको अधिकारको रक्षा गर्लान्?













प्रतिक्रिया