शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

श्रीमतीले रक्सी चुरोट छोड्ने कि घर ? भनेर सोधिन्, लिए श्रीमानले यस्तो निर्णय

दैनिक नेपाल २०७८ चैत १६ गते १५:१२

एक ६० वर्षीय व्यक्ति पछिल्लो १४ वर्षदेखि विमानस्थलमा बसिरहेका छन् । उनले आफ्नो घर छोडिदिएका छन् । ती व्यक्तिका अनुसार उनलाई घरका सदस्यले रक्सी र चुरोट छोड्नका लागि भनेका थिए, त्यसैले उनले घर छोडेर विमानस्थलमा बस्न सुरु गरे ।

यी व्यक्ति चीनका हुन् । उनको नाम वेई जियानगुओ हो । जियानगुओले आफू घर फिर्ता नजाने बताएका छन् किनभने उनका अनुसार त्यहाँ उनका लागि स्वतन्त्रता नै छैन ।

यस्तै, जियानगुओ पछिल्लो १४ वर्षदेखि बेइजिङ इन्टरनेशनल एयरपोर्टको वेटिङ एरियामा बसिरहेका छन् । सुरुमा उनी केही दिन रेलवे स्टेशनमा पनि सुतेका थिए । जियानगुओका अनुसार विमानस्थलमा उनी आफ्नो मर्जीले खान पिउन सक्छन् । उनले चाइना डेलीसँगको कुराकानीमा घरमा आफूले मन लागेको कुरा गर्न नपाउने भएकोले उनी घर नफर्कने बताएका छन् ।

ती व्यक्तिका अनुसार उनकी श्रीमती र परिवारका सदस्यले उनलाई घरमा बस्नु छ भने रक्सी र चुरोट छोड्नुपर्ने शर्त राखेका थिए । यस्तोमा उनले घर नै छोड्ने निर्णय दिए । जियानगुओको घर विमानस्थलबाट करिब १९ किलोमिटर टाढा छ । उनले सन् २००८ मा घर छोडेका थिए ।

हालै एक भिडियोमा वेई जियानगुओले चिसो नहुने भएकोले उनलाई विमानस्थलमा बस्न मनपरेको बताएका थिए । जियानगुओले त्यहाँ आफ्नो सानो किचन पनि बनाएका छन् । हरेक महिना पाइने सरकारी सहायतामार्फत् उनको खर्च चल्छ ।

जियानगुओले विमानस्थलमा आउने कुनै पनि यात्रीलाई केही पनि गर्दैनन् त्यसैले त्यहाँका कर्मचारीले उनलाई हटाएका छैनन् । आफ्नो स्लिपिङ ब्याग र केही सामानसहित उनी पछिल्लो १४ वर्षदेखि बेइजिङ विमानस्थलमा बसिरहेका छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित