७ कार्तिक २०८३, शनिबार

प्रहरी जवान उर्मिलाले किन गुमाइन् ज्यान, के थियो घटना ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ चैत । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो ।

तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन । प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो ।

प्रहरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन् । उनी अढाई वर्ष पहिले मात्रै प्रहरी जवानमा भर्ती भएकी थिइन् । खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो ।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन् । उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन् ।

उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन् । दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन् । उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन् । भाउजू मीना जवान हुन् । उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन् ।

प्रहरी जवानमा उत्तीर्ण भएपछि उर्मिलाको पहिलो पोस्टिङ नै मोरङको रानीस्थित १ नं गणमा भएको थियो । उनी त्यहाँ दुई वर्षदेखि कार्यरत थिइन् । तर, आइतबार छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट सुरक्षितसाथ निकाल्न खोज्दा आफू मारिइन् ।

शिक्षकलाई विद्यालयबाट बाहिर निकाल्न खोज्दा झडप भयो । स्थानीयको भीडले आक्रमण गर्‍यो । अरू भागेर जोगिए । तर उर्मिलाको घाँटीमा पटकपटक धारिलो हतियार प्रहार भयो ।

उनी त्यहीँ ढलिन् । अरू १७ जना प्रहरी पनि स्थानीयको ढुंगामुढाबाट घाइते भए । तर उनीहरूको अवस्था सामान्य नै छ । सबै घाइतेलाई कोसी अस्पताल लगियो । उर्मिलालाई भने कोसी अस्पताल (विराटनगर) ले राति १०:५० बजे मृत घोषणा गर्‍यो ।

दाइको पदचाप पछ्याएकी उर्मिलाको जीवनसँगै राष्ट्रसेवकको यात्रा छोटै समयमा टुंगियो । अरूलाई सुरक्षा दिन लागिपरेका श्रेष्ठ परिवार आफैं शोकमा डुब्यो ।

के थियो घटना ?

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ७ मा पढ्ने १३ वर्षीया बालिकाले होलीको दिन शुक्रबार भएको दुर्व्यवहारबारे अभिभावकलाई जानकारी गराइन् । स्थानीय र विद्यार्थीसहितको टोलीले आइतबार विद्यालय खुल्नासाथ ती शिक्षकलाई निशाना बनाए ।

आक्रोश बढ्दै गएपछि स्थानीय प्रहरीको टोली पुग्यो । तर स्थानीय र विद्यार्थीको भीडले छाडेन । प्रहरीले आरोपित शिक्षकलाई विद्यालयबाट निकालेर जिप्रका लैजान सकेन । दिनभर शिक्षक पौडेललाई विद्यालयभित्रै थुनेर राखियो । तर आक्रोशित भीडले नछाडेपछि प्रहरीले थप मद्दत मगाएको थियो ।

आक्रोशित स्थानीय र विद्यार्थीले शिक्षक पौडेलको मोटरसाइकल जलाए । प्रहरीका सवारीसाधान पनि तोडफोड गरे । साँझ थप मद्दत आएपछि शिक्षकलाई एम्बुलेन्समा लैजान खोज्दा त्यहाँ पनि तोडफोड गरे । झडप भयो । आरोपित शिक्षकलाई प्रहरीले जोगाएको भन्दै प्रहरीलाई आक्रमण गरिँदा ठूलो क्षति भएको प्रदेश नं १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले बताए ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित १७ प्रहरी घाइते भए । आक्रमणपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो । दुई जना आक्रमणकारी घाइते भए । भीड र आक्रमण झेल्दै प्रहरीले आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय लेटाङ पुर्‍यायो । त्यसपछि मात्रै राति ९ बजेतिर स्थिति सामान्य भएको प्रहरीले जनाएको छ ।

अहिले प्रशासनले त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रहरीलाई आक्रमण गर्नेको पनि खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । सोमबार बिहान ६ जना पक्राउ परिसकेका छन् । घटनामा संलग्न अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खुकुलो बनाइयो कर्फ्यू

यसैबीच सोही घटनाले उग्ररूप लिएपछि लेटाङ क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू मंगलबारदेखि केही खुकुलो बनाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार विहान ७ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई संसोधन गर्दै मंगलबार बेलुका ४ देखि ६ बजेसम्म र बिहान ६ बजेदेखि १० बजेसम्मका लागि तोकेका छन् ।

चैत ४ गते शुक्रबार होली खेल्ने बहानामा स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययन गर्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयका विद्यार्थी, छात्राका परिवार र आफन्तसहित स्थानीयवासीले प्रदर्शन गरेका थिए ।

विद्यालयमा घटनाका बारेमा जानकारी लिने उदेश्यले भएको छलफलका क्रममा पीडित भनिएका छात्रा बेहोस भएर उपचारका लागि पठाइएपछि आक्रोशित बनेको भिडले प्रदर्शन चर्काएको थियो ।

आइतबार दिनभर भएको प्रदर्शनका कारण विद्यालयको भौतिक सम्पति समेत तोडफोड भएको थियो । सोही क्रममा आइतबार राति करिब साढे ८ बजे आक्रोशित भिडले सुरक्षामा खटिएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेपछि लेटाङ बजार र खेरुवा आसपासको क्षेत्र तनावग्रस्त भएको थियो ।