७ कार्तिक २०८३, शनिबार

५ दल एकातिर हुँदा पनि स्थापित अनुहार किन एमाले प्रवेश गरिरहेका छन्?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत। विभाजनअघिको नेकपामा सह–अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सैद्धान्तिक पाटो जनताको बहुदलीय जनवाद (जबज) नहुने भन्दै जनताको जनवाद भन्ने विषय अघि सारेका थिए। त्यसमा माधवकुमार नेपाल र झलनाथ खनालले समर्थन गरेका थिए।

तर जबजको सान्दर्भिकता नसकिएको भन्दै सचिवालय सदस्य ईश्वर पोखरेलले प्रतिवाद गरे। नेकपाको विभाग जिम्मेवारीमा पनि लामो मथापच्ची भएको थियो। पोखरेलले नै स्कुल विभाग जिम्मेवारी पाए र उनले जबजको सान्दर्भिकतालाई बेजोड व्याख्या थालेका थिए।

त्यो नेकपाको नभई एमालेको सैद्धान्तिक लाइन थियो। र, अघोषित रुपमा एमालेको सिद्धान्तले व्यापकता पाउँदै गर्दा २३ फागुन ०७७को सर्वोच्च अदालतको फैसलासँगै यसले मूर्त रुप लियो। एमाले ब्युँतियो, माओवादी अलग दलका रुपमा घोषणा भयो।

‘जबज एमाले र नेपालमा कम्युनिस्ट आन्दोलनको बलियो र वैज्ञानिक जग हो, यो जग हल्लाउने कोशिश हुँदा अनेक घटनाक्रमले फेरि ब्युँतियो’, एक कम्युनिस्ट नेता भन्छन्,‘यो मदन भण्डारीको स्थापित मानक अहिले बेजोड रुपमा चलिरहेको छ।’

अहिले सत्ता गठबन्धनका ५ दल (जनमोर्चा अलग भएको भन्ने छ तैपनि) एकातिर र नेकपा एमाले अर्कातिर चुनावी प्रचारमा लागेका छन्। ३० वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा एमालेमा प्रवेश गर्ने स्थापित अनुहारको उरुङ लाग्न थालेको छ। जबकि, ५ दलीय गठबन्धनले एमालेलाई ‘प्रतिगमन’ गरेको भनी विरोधाभाष भाष्यमा प्रचार गरिरहेका छन्। सत्तागमनको इष्र्याका कारण तोडिएको कम्युनिस्ट बहुमत र एकतापछि पनि ब्युँतिएको एमालेमा स्थापित अनुहार किन अटाइरहेका छन्?

‘यो अध्यक्ष केपी शर्मा ओलीको साहस, आँट र चुनौति दिने लयको असर त हो नै, सत्ताका निम्ति मरिहत्ते गर्ने गठबन्धनको नियतको उपज पनि हो’, एक नेता भन्छन्,‘यो क्रम अझ बाक्लो र बलियो हुनेछ।’

स्थानीय चुनाव नजिकिएका बेला महानगर, उपमहानगर र नगरका मेयरदेखि गाउँपालिकाका कतिपय अध्यक्ष पनि एमालेमा प्रवेश गरिरहेका छन्। त्यसअघि मधेस केन्द्रित राजनीतिमा सक्रिय रहेका नेताहरू पनि एमालेमा समाहित भएका छन्।

केही दिनमा एमाले अध्यक्ष ओलीको उपस्थितिमा कपिलबस्तुमा संघीय सांसद र प्रदेश सांसदसहित त्यतिकै संख्याका नेताकार्यकर्ता एमाले प्रवेश गराउने कार्यक्रम तय भएको छ। उनले आइतबारमात्र इलामको फिक्कलमा नेकपा एकीकृत समाजवादीतिर लागेका कयौंलाई एमालेमा पुनःस्वागत गरेका थिए।

केही साताअघि रुपन्देहीको दुई पालिका ओमसतिया र रोहिणी गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित माओवादी र जसपाका सिंगो कमिटी एमाले प्रवेश गरेपछि रुपन्देहीमा पनि एमालेको प्रभाव बढ्दो छ।

जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी एमाले प्रवेश गरिसकेका छन्। पूर्वमा मोरङको रङगेली नगरपालिकाका मेयर दिलिप बगडिया एमाले प्रवेश गरिसकेका छन्।

एमाले नेकपाको निरन्तरता र सबैलाई सहमतिका आधारमा स्थान दिँदै चुनावी मैदानमा प्रतिस्पर्धीसँग खरो उत्रिनुपर्छ भन्ने अध्यक्ष ओलीको मान्यताका कारण आकर्षण बढेको कतिपय बताउँछन्।

‘कहिँ न कहिँ एमालेमाथि अन्याय भएको, प्रधानमन्त्री हुँदा अध्यक्ष ओलीलाई काम गर्न नदिएको भन्ने त सबैले महशुस गरेका छन्। त्यसैले पनि एमालेप्रतिको मोह बढ्छ भन्ने स्वभाविक थियो र अझ हुनेछ’, जिल्ला तहका नेताहरू भन्छन्,‘चुनावमा एमाले एक्लै सबैसित भिँड्छ।’

महाधिवेशनपछि चुनावकेन्द्रित हुँदै एमालेले पार्टी प्रवेशका कार्यक्रम र रणनीति पनि तय गरेको थियो। राज्यका सबै शक्ति एमालेविरुद्ध प्रयोग गर्ने सत्ता गठबन्धनको नीतिविरूद्ध जनता र पार्टी बलियो बनाउने रणनीतिमा अध्यक्ष ओली अग्रसर भएका थिए। सोहीअनुसार नै केन्द्रदेखि जिल्लासम्मका नेता एमालेको जनपरिचालनदेखिका गतिविधिमा सक्रिय हुँदा आकर्षण बढेको बताइन्छ।