
काठमाडौं, ७ चैत । नेकपा (एमाले)की केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाईं भइरहेको बताएकी छिन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामको मूल्यांकन जनताले गरिरहेको उनको भनाइ छ । वर्तमान सरकारले कुनै खास काम गर्न नसकिरहेको अवस्थाकाबीच जनताले एमाले नेतृत्वको सरकारको आवश्यकता महसुश गरिरहेको नेतृ अर्यालको भनाइ छ ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै नेता अर्यालले परमादेशी गठबन्धन कलाकारहरुको सृजनाबाटै तर्सिएको बताइन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले जनकलाकारहरुले जनतालाई सचेत बनाउँदै समाज परिवर्तन तर्फ लाग्नुपर्नेमा जोड दिए । त्यसैगरी नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले कलाकारहरुसँग राजनैतिक नेतृत्वलाई सही बाटो देखाउन सक्ने खुबी रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, वरिष्ठ कलाकार प्रजापति पराजुली, प्राज्ञ रमेश श्रेष्ठ, वरिष्ठ गायिका पार्वती जिसी र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले समेत सम्बोधन गरेका थिए ।















प्रतिक्रिया