२९ आश्विन २०८३, बिहिबार

आमाको नामबाट नागरिकता लिन अझै असहज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ७ चैत । काठमाडौं रातोपुलकी गुञ्जना कुँवर बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय धाएको वर्षौं भयो, तर उनले अझैं आफ्नो नामबाट छोरा सफल कुँवरलाई नागरिकता दिलाउन सकेकी छैनन् ।

सफल अहिले १९ वर्षका भए । गुञ्जनालाई जिल्ला प्रशासनका कर्मचारीले छोराको जन्मदर्ता परिवर्तन गरेर आउन भने । उनका छोरा सफलको जन्मदर्तामा बाबुको नाम रहेछ । कुँवरले ८ वर्षअघि श्रीमान्सँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् ।

आफूले एक्लै छोरालाई हुर्काएकाले छोराको चाहनाबमोजिम श्रीमान्को नाम नराखी आफ्नो नाममा मात्र छोराको नागरिकता बनाइदिन उनको चाहना छ, तर मिलिरहेको छैन ।

गुञ्जना भन्छिन्, ‘छोराको नागरिकता मेरो नामबाट बनाउन प्रशासनमा धाएको दुई वर्ष भइसक्यो, अझै नागरिकता बन्न सकेको छैन । यहाँका कर्मचारीलाई ‘जन्मदर्ता परिवर्तनका लागि तपाईंहरू नै सिफारिस गरिदिनुस् भनें । तर, प्रशासनले त्यसो गर्न नमिल्ने बतायो ।’

अहिले ४० वर्षकी गुञ्जनाको विवाह सानो उमेरमै नजिकै कालोपुल विवासी एक युवासँग भयो । तर, विभिन्न कारण वैवाहिक जीवन टिक्न सकेन । सम्बन्ध विच्छेदपछि उहाँका श्रीमान्ले दोस्रो विवाह गरिसकेको गुञ्जना बताउँछिन् । अहिले छोरा सफलले १२ कक्षा पास गरिसकेका छन् ।

‘नागरिकता नबन्दा धेरै अवसरबाट छोरा वञ्चित भएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म छोराले बैंक एकाउन्ट खोल्न, सवारीसाधनको लाइसेन्स लिन सकेको छैन, जागिरका लागि फर्म भर्न पाएको छैन, वैदेशिक रोजगारीको लागि रोकिनुपरेको छ, नागरिकता नभएपछि सबै कामबाट वञ्चित हुनुपरेको छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा शोभा परियारले समाचार लेखेकी छिन् ।