२९ आश्विन २०८३, बिहिबार

पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ९३ प्रतिशत पूरा भएको छ । वैशाखभित्र यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने योजनाअनुसार काम भइरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । उनका अनुसार डेकोरेसन, फिनिसिङ लगायतका केही काम बाँकी छन् ।

रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर यसअघि नै निर्माण भइसकेका छन् । टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने एउटा विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) जडान भइसकेको छ । अर्को जडान भइरहेको छ । यस्तो खाले ब्रिज नेपालमै पहिलो पटक यहाँ जडान गरिएको हो । बाँकी काम पनि द्रुतगतिमा भइरहेको आयोजनाले जनाएको छ ।

कोरोना संक्रमणका कारण विमानस्थल निर्माणको समय १ वर्ष थपिएको थियो । जसअनुसार असार मसान्तभित्र सक्नुपर्ने समयसीमा छ तर अधिकांश काम सकिए पनि आन्तरिक समस्या समाधानका काम अझै हुन भने सकेको छैन । विमानस्थल सञ्चालन अघि नजिकै पूर्वतर्फ रहेको रिठ्ठेपानी डाँडा कटान गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणका लागि यो डाँडा बाधक बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ । निजीतर्फको डाँडा भने कटान भइरहेको छ । अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्छ ।

अझै सरकारी वनतर्फको रुख कटानका लागि बाटो नखुलेको आयोजना प्रमुख मुनंकर्मी बताउँछन् ।

अर्को बाधक ल्यान्डफिल्ड साइट रहेको छ । ३ किलोमिटर दूरीमा रहेको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालन हुनु ६ महिनाअघि नै सारिसक्नुपर्ने हो तर नयाँ ल्यान्डफिल्ड बनाउन जमिनको टुंगो लागेको छैन ।

‘ल्यान्डफिल्डमा फ्याँकिएका फोहोर खाने बानी परेका गिद्ध, चिल लगायतका चरालाई नयाँ ठाउँमा जाने बानी पनि पर्छ,’ चरामा विद्यावारिधि गरेका हेमसागर बराल भन्छन्, ‘जसका लागि पार्न विमानस्थल सञ्चालन हुनुभन्दा ६ महिनाअघि ल्यान्डफिल्ड साइट सार्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।’

अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३ किलोमिटरभित्रै सेतो गिद्ध, डंगर, सानो खैरो गिद्धलगायत गिद्धको बासस्थान रहेकाले बेलैमा ल्यान्डफिल साइट सार्ने, जटायु रेस्टुरेन्टमा गिद्धका लागि सिनोको व्यवस्थापन गर्ने काम तत्काल गरेर उडानमा अवरोध रोक्न सकिने बरालले बताए ।

जग्गाको टुंगो समेत नलाग्दा र डाँडा कटानका लागि रुख काट्न समेत स्वीकृति नपाउँदा विमानस्थल तयार भए पनि सञ्चालनमा समस्या आउन सक्ने देखिएको हो । विमानस्थलमा नेपाल आयल निगमले बनाउने भनिएको इन्धन भण्डारण कक्षको काम पनि शुरू भएको छैन । इन्धन भण्डारण कक्ष तयार नभए पनि विमानस्थल सञ्चालनमा समस्या नआउने बताइएको छ ।

सञ्चालनमा रहेको विमानस्थलबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन लगेर व्यवस्थापन गरिने निगमले जनाएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताए । ढल र नहरको व्यवस्थापन अर्को चुनौती छ । पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने शहर हो । वर्षायाममा पृथ्वी राजमार्ग हुँदै आउने भलपानी विमानस्थल परिसर हुँदै बग्ने सिँचाइको नहरमा मिसिन्छ ।

गत वर्षायाममा नहर भत्केर बगेको पानीले विमानस्थल पूर्वतर्फको विजयपुर खोलाको डिल भत्केको छ । यसले पनि समस्या हुन सक्ने स्थानीय हेमन्त ढकाल बताउँछन् ।

वैशाखमा यान्त्रिक उडान गर्न पनि १४ मिटर डाँडा कटान हुनुपर्ने आयोजनाले जनाएको छ । स्वीकृति पाए ३० हजार घनमिटर माटो १ महिनामा काट्न सकिने आयोजना प्रमुख मुनंकर्मीले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।