
-सुजन बस्नेत
उमेरले उनी १६ वर्ष पुरा भइन् तर २ वर्षीया छोरीको आमा बनेकी छिन् रमैया (नाम परिवर्तन) । सप्तरी जिल्लाको एक दलित गाउँकी रमैयाको कानुनी रुपमा त विहे गर्ने बेला भएको छैन ।
तर रमैया भन्छिन्, ‘बाल विवाह गर्न हुन्न भन्ने विभिन्न तालिमहरु पनि लिएकी थिएँ । किताबमा पनि पढेको हो । तर के अर्नु, राम्रो खान लाउनकै लागि भएपनि बिहा अर्नु पर्यो ।’
आफूजस्तै अरू किशोरीहरूले राम्रो लगाएको मीठो खाएको देख्दा बिहा अर्ने रहर जागेर आयो अनि बिहे बन्धनमा बाँधिएको बताउँछिन् रमैया ।
‘पढ्ने, लेख्ने र ठुलो मान्छे भएर जागिर खाने मन मलाई पनि थियो’ रमैया सुनाउँछिन्, ‘तर बिहा गरेपछि सोचेको जस्तो केहि नहुने रैछ भएका अलिअलि बाटाहरू पनि सबै बन्द हुदै गए ।’ आफूजस्तै अरू किशोरीहरूले राम्रो लगाएको मीठो खाएको देख्दा विवाह अर्ने रहर जागेर आयो अनि बिहे बन्धनमा बाँधिएको बताउँछिन् रमैया ।
उनी हाल गाउँकै एक इट्टा भट्टामा काम गर्छिन् । बिहान सबेरै घामसँगै उठेर घर धन्दा सक्काएर काममा जान्छिन् अनि दिनभर काम गरेर बेलुका घाम सँगै घर फर्कन्छिन् । उनका श्रीमान भने रोजगारीका लागि कलिलै उमेरमा भारत हानिएका छन् ।
घरमा २ देवर र वृद्धा सासु ससुरा रहेको उनी बताउँछिन् । उनी सम्झन्छिन्, ‘माइती छदाँ त बरु बा आमालाई जितेर जेनतेन खाइन्थ्यो, खेलिन्थ्यो परेको बेला काम पनि गरिन्थ्यो तर बिहे अरेपछि त्यो सबै खोसिएको महसुस हुने रैछ ।’
देशका विभिन्न ठाउँहरुमा अझै पनि बालविवाह, छाउपडी, जातीय छुवाछुत जस्ता कुप्रथा जिवितै रहेको देख्न सकिन्छ । अहिले पनि महिनावारी हुँदा चुलोचौकोबाट परै गोठमा बस्ने गरेको रमैया सुनाउँछिन् ।
त्यहीँ माथि विभिन्न ठाउँहरुमा घट्ने गरेका बलत्कारको घटनाले महिनावारी हुँदा प्रत्येक पटक झस्किने गरेको उनको अनुभव छ ।
उनी भन्छिन्, ‘माइतीघरमा त बरू आमाले महिनावारी हुँदा कसैलाई अत्तो नदिई लुकाएर आफैँसँग सुताउनु हुन्थ्यो तर यहाँ त पुस, माघको चिसोमा पनि एक्लै त्यो परालमा सुत्नुपर्छ ।’
गोठ न हो न त त्यहाँ ढोका हुन्छ न त सुरक्षा नै । त्यहीँ माथि विभिन्न ठाउँहरुमा घट्ने गरेका बलत्कारको घटनाले महिनावारी हुँदा प्रत्येक पटक झस्किने गरेको उनको अनुभव छ ।
माइतीघर र विवाह गरेर गएको घरमा हुने भिन्नता प्रति उनी कत्ति पनि खुशी नभएको उनी भन्छिन् । उनी थप्छिन्, ‘त्यो बेला जानिएन बुझिएन मिठो र राम्रो खाने लोभले बिहे गरियो अहिले न यताको नउताको भएको छु ।’
उनी जस्ता कयौं रमैया काखमा सन्तान च्यापेर कोहि इट्टाभट्टामा त कोहि होटलको काम गर्न जाने तयारीमा बाटोमा फाट्टफुट्ट हिँड्न थालेका थिए । कुरा गर्दै गरेकी रमैयालाई नि काममा जानु थियो । उनलाई काममा जान हतार भएकाले बुझेर हामीले उनीसँग थप समय लिन सकेनौँ ।
जति वटै सरकार फेरिपनि रमैया जस्ताको जीवनमा भने कहिल्यै परिवर्तन आएन । बालविवाह निरुपणका लागि सरकारले विभिन्न शीर्षकमा बजेट खर्च गर्दै आएको छ । थुप्रै तालिम दिँदै आइरहेको छ ।
आखिर त्यसलाई रमैयाको कथाले व्यर्थ ठहर्याएको छ । रमैया त एक पात्र मात्र हुन् आज पनि कैयौँ रमैयाको जीवन यसैगरी बित्ने गरेको छ । यसमा सरोकारवाला निकायहरुको ध्यान गएमा रमैयाहरुको जीवनमा केही सहजता पक्कै हुने थियो ।













प्रतिक्रिया