
काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु चुनावको प्रतिक्षामा रहेको बताएका छन् ।
शनिबार नेपाल निजामी कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार हटाउन आफूहरु चुनावको प्रतीक्षामा रहेको बताएका हुन् ।
उनले अहिलेको सरकार जरा बिनाको मुला भएको टिप्पणी गरे । यसलाई उखेल्न धेरै गाह्रो नहुने भन्दै उनले त्यसका लागि चुनाव पर्खिनुपर्ने उनले बताए ।
निर्वाचनपछि अहिलेको सरकार नरहरने बताउँदै ओलीले त्यही भएर सरकार निर्वाचनको विपक्षमा रहेको बताए ।
अहिलेको सरकार मात्र पाँच जना न्यायाधीशको आदेशले बनेको भन्दै यसलाई उखेल्न गाह्रो नहुने टिप्पणी गरे ।
‘जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एक छिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ’ उनले भने ।
सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने ओलीले बताए ।















प्रतिक्रिया