
काठमाडौँ, २७ फागुन । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदववारहरुले बढीमा ७ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको हो ।
शुक्रवार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।
निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउँछन् । त्यस्तै उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख र नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार बनेकाले चार लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् ।
यस्तै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले बढीमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । वडाध्यक्ष तथा सदस्यका उम्मेदवारमध्ये महानगरतर्फ तीन लाख ५० हजार, उपमहानगरपालिकातर्फ दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख र गाउँपालिकामा एक लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउनेछन् ।
उनले स्थानीय तहको चुनावका लागि आयोगले ६ हजार सात सय ४३ प्रकारका मतपत्रको नमुना तयार गरेको बताए । समय अभावका कारण उम्मेदवारको पूर्वअनुमान गरी मतपत्र व्यवस्थापन गर्न लागिएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय दलको मान्यता प्राप्त नभएका दलले उठाउँदै आएको निर्वाचन चिह्नसम्बन्धी माग र समस्याको निकास दिन आयोगले प्रयास गर्ने बताए ।















प्रतिक्रिया