२८ आश्विन २०८३, बुधबार

माओवादी-समाजवादीः व्यक्तिगत स्वार्थको गमलामा समाजवादी फूल ?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

सयौं सहिदको बलिदान र लाखौं जनताको रगत पसिनाले उचाइमा पुगेको सात दशक लामो नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न आरोह-अवरोहबाट अगाडि बढिरहेको छ ।

कहिले विभिन्न भङ्‌गला मिलेर एउटै शक्तिशाली पार्टी निर्माण गर्ने र कहिले शक्तिशाली कम्युनिष्ट पार्टी फुटेर टुक्राटुक्रा बनेर प्रतिक्रियावादी शक्तिलाई बलियो बन्न सहयोग गर्ने चलन चल्दै आएको छ ।

वर्तमानमा नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)ले देशको कायापलट गर्ने वैचारिक र साङ्गठानिक तयारी गरिरहँदा प्रचण्डर माधव देशको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएर नेपाली काङ्‌ग्रेसलाई मजबुत बनाउन मरिहत्ते गरेर लागेका छन् ।

पञ्चायत कालमा विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलन पञ्चायतको अन्त्यपछि मूलतः दुई कित्तामा विभाजित थिए । एउटा प्रमुख कित्ता झापा विद्रोहको जगमा निर्माण भएको एमाले थियो भने अर्को चौथो महाधिवेशन-एकता केन्द्र-मोटो मसाल हुदै बनेको माओवादी ।

नब्बेको दशकमा, जतिवेला विश्वमै कम्युनिष्ट शासन ढल्ने लहर चलेको थियो,जननेता मदनकुमार भण्डारीले नौलो जनवादी कार्यक्रमबाट एक इन्च एताउता नहुने मानसिकताका नेपालका कम्युनिष्टलाई जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा टेक्न र हिंड्न अभ्यस्त गराउनुभयो ।

गाउँबाट सहर घेरेर, सत्ता कब्जा गर्ने नयाँ जनवादी बाटोको विकल्पमा निर्वाचनमा श्रेष्टता हासिल गरेर पनि कम्युनिष्टहरूले सत्ता प्राप्त गर्न र कायम राख्न सक्छन् भन्ने नविन धारणाले नेपाली कम्युनिष्ट वृत्तमा मात्र होइन, सिङ्‍गो नेपाली समाजमा गहिरो प्रभाव पार्‍यो ।

नेपाली धरातलीय यथार्थसंग मेल खाने विचार निर्माणमा अतुलनीय योगदान गरेको कारण छोटोसमयमै लोकप्रियताको शिखरमा पुगेका मदन भण्डारीको रहस्यमय दाशढुङ्‌गा दुर्घटनामा निधन भएपछि एमालेको नेतृत्व माधव नेपालको हातमा लामो समयसम्म रहन पुग्यो ।

उता जनताको बहुदलीय जनवाद सुन्नै नचाहने तत्कालीन चौ म समूह माओवादी बन्दै माओको ‘गाउँबाट सहर घेर्ने’ नीति लिएर जङ्गल पस्यो । आफूलाई निख्खर मावोवादी बताउँदै चिनियाँ क्रान्तिको हुबहु नक्कल गरेर नेपालमा एमालेले लिएको शान्तिपूर्ण प्रतिस्पर्धाको कार्यनीतिको विकल्पमा सशस्त्र विद्रोहमार्फत् एकदलीय एकाधिकारवादी सत्ता निर्माण गर्ने कार्यनीति माओवादीहरूले लिए ।

विचारमा अत्यन्त कमजोर, आफ्नोलागि मात्र मरिमेट्ने,पार्टीलाई विचार र भिजनले भन्दा प्राविधिक व्यवस्थापनमा चलाउने, भारतप्रति निहुरमुन्टी न बन्ने, कमजोर राष्ट्रवादी नेता माधव नेपालले दिवंगत महासचिव मदन भण्डारीको स्थान कहिल्यै लिन सकेनन् । बरु एमालेलाई हरेक वर्ष कमजोर बनाउदै लगे । ‘एमाले, न पोथी न भाले’ भन्ने विपक्षीको आरोप सत्य पो हो कि जस्तो लाग्ने बनाए ।

ज्ञानेन्द्रको पाउमा दाम चडाउने, नारायणीहिटी राजदरवारको खिड्कीबाट प्रधानमन्त्रीको लागि विन्ती-पत्र लक्ष्मणसिंह खड्कासंगै लाइन बसेर छिराउने, प्रतिगमन आधा सच्चिएको आत्मज्ञान हुने आदि कारणले माधव नेपालले एमालेलाई इतिहासकै कमजोर बनाए । मदन भण्डारीको वैचारिक नेतृत्वमा राष्ट्रिय राजनीतिमा उदाएको एमाले माधव नेपालको पालामा मुर्झाउन पुग्यो ।

पार्टीको महासचिव दुइटै निर्वाचन क्षेत्रबाट हार्ने अकल्पनीय परिस्थिति पैदा भयो । ‘नैतिकताको आधारमा’ राजिनामा दिएर बाहिरिएका माधव नेपाललाई प्रधानमन्त्री बन्न गिरिजा र प्रचण्डको संयुक्त निगाह चाहियो ।

करिब डेढ दशक एमालेको नेतृत्व गरेर पार्टीलाई कमजोर तेश्रो बनाएर नेतृत्वबाट बाहिरिएका माधव नेपालले उनीपछिका पार्टी अध्यक्ष झलनाथ खनाल र के पी शर्मा ओलीलाई निरन्तर असहयोग  गरिरहे । विभिन्न अत्तो थापेरनिर्वाचित नेतृत्वलाई काम गर्न बाधा दिइरहे ।

दिनकादिन माओवादी लगायत विभिन्न वाम पार्टीमा क्रियाशील सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश भइरहेका छन् । एमालेबाहेकका अरू वाम पार्टीको भविश्य नभएको खुलमखुल्ला घोषणा गरिरहेका छन् ।

एमाले-माओवादी एकतापछि प्रचण्ड र माधवको कसरी ओली र एमाले शक्तिलाई कमजोर पार्ने भन्नेमात्र ध्याउन्न रह्यो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले के पी शर्मा ओलीले सम्पादन गरेका आम जनता र विपक्षीले समेत समर्थन गरेका राम्रा कामको समेत  समर्थन गर्नबाट समेत उनीहरू पछि हटे ।

कतिसम्म भने नेपालको भूमि समेटेर ओली सरकारले प्रचलनमा ल्याएको नेपालको नक्सा र त्यसमा उनले पाएको राष्ट्रव्यापी समर्थनको जस आफूले लिन मरिहत्ते गरे ।

देशको नक्सा बढाउने ओलीको ऐतिहासिक र युगीन महत्वको कामलाई नेपाली जनताले र विपक्षीले समेत मुक्त कण्ठले प्रशंसा गरे तर सो कामबाट प्रचण्ड र माधवलाई असैह्य जलन भयो, खपिनसक्नु भयो ।

नक्सा प्रकरणपछि राष्ट्रवादी ओली सरकार गिराउने र एमाले फुटाउने विदेशी डिजाइनमा प्रचण्ड र माधव नै सामेल भए । जनताको बलमा बनेको कम्युनिष्ट सरकार गिराउन र प्रतिक्रियावादीलाई सत्ता सुम्पन उनीहरू सफल भए पनि ओली र ओली नेतृत्वको एमालेको क्रेज गिराउन सकेनन् ।

सत्ताबाहिर रहेको एमालेले यो कुरा पटक-पटक पुष्टि गरिसकेको छ । एमालेले आफ्नो विधान महाधिवेशन,भव्य र सभ्य राष्ट्रिय महाधिवेशन, उसका स्थानीय तहका अधिवेशनहरूमार्फत् पार्टीलाई आसन्न स्थानीय तह र आम निर्वाचनको लागि तयार पारेको छ ।

दिनकादिन माओवादी लगायत विभिन्न वाम पार्टीमा क्रियाशील सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश भइरहेका छन् । एमालेबाहेकका अरू वाम पार्टीको भविश्य नभएको खुलमखुल्ला घोषणा गरिरहेका छन् ।

ओलीलाई ‘देखाउन’ पार्टी बनाउने अभियानमा कस्सिएका माधव नेपालले पार्टी बनाउन नसक्नु, कम्युनिष्ट एकता विगारेर दक्षिणपन्थीको पाउमा लम्पसार परेका प्रचण्डसंग विगतमा माओवादी आन्दोलनमा लागेको ठूलो पङ्‌क्तिको मोह भङ्‌ग हुनु, गैरएमाले वामपन्थी एकताको भ्यागुत्ताको धार्नी कहिल्यै नपुग्नु,परमादेशी सरकारले दिन प्रतिदिन जनविरोधी हर्कत गर्दै जानु आदि कारणले एमालेप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ ।

एकातिर माधव समूहमा अल्मलिएका एमालेहरू घर फर्कने क्रम तीव्र बनेको छ भने अर्कातिर इमान्दार, क्रान्तिकारी र राष्ट्रवादी माओवादीनेता कार्यकर्ता एमालेमा निरन्तर समाहित भइरहेका छन् । सत्ताशीन पार्टी छोडेर प्रतिपक्षी पार्टीमा समाहित हुने नेता-कार्यकर्ताको लर्को देख्दा लाग्छ, एमाले बाहेकका पार्टीहरूको भुईं चिसो भइसकेको छ ।

एमसीसी प्रकरणमा उनीहरूले देखाएको नौटङ्‌कीबाट त बचेखुचेका माओवादी केन्द्र र माधव समूहका नेता-कार्यकर्तामा व्यापक निराशा पैदा भएको देखिदैछ । अहिले उनीहरू नेपाली काङ्‌ग्रेसजस्तो दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको पिछलग्गु किन हुने भन्ने प्रश्न गर्न थालेका छन् ।

प्रचण्डको सबभन्दा ठूलो चिन्ता भरतपुर महानगरमा छोरीले पुनः जित्ने हो कि होइन भन्ने रहेको छ भने माधवको सबभन्दा ठूलो चिन्ता आफ्नो भागमा शून्य सीट हात लाग्ने हो कि भन्ने रहेको छ । कम्युनिष्ट आन्दोलन, समृद्ध नेपाल र समाजवाद त उनीहरूको चिन्ताको विषय नै होइन ।

यो अवधिमा नेका, राप्रपा र मधेशवादी दलका समेत थुप्रै नेता-कार्यकर्ताले एमाले रोजिसकेका छन् । मधेशमा एमालेको लहर चल्न थालेको छ । एमाले विखण्डित मदेशवादी दलबाट आजित जनताको पनि भरपर्दो आश्रयस्थल बनेको छ ।

कालजयी विचार जनताको बहुदलीय जनवादको आलोकमा समाजवादको निर्माण गर्ने र यो महाअभियानमा सबैलाई समेटेर लैजाने तागत एमालेमा मात्र छ भन्ने बुझाइ आम नेपालीको बुझाइ बन्दै गएको छ, जुन नेपाल र नेपालीको लागि ज्यादै सुखद् विषय हो ।

पञ्चायतकालमा कुनै सिडिओ मोटरबाटो नपुगेको आफ्नै जिल्लामा सरूवा भएर गएछन् । सिडिओ कार्यालयमा घोडा नभएकोले उनले घोडा खरिदको सूचना सार्वजनिक गर्नु पर्ने भएछ ।

त्यही मौका पारेर उनले आफ्नो घरको घोडा बेच्ने जुक्ति निकालेछन् । आफ्नो घरको घोडाको काटिकुटी विशेषता राखेर लिलामीको सूचना निकालेछन् ! आफ्नै घरको घोडामात्र सिडिओ कार्यालयको लागि योग्य घोडा ठहरिएछ !

प्रचण्ड र माधव नेपालको कम्युनिष्ट आन्दोलनलाई ‘सिडिओको घोडा लिलामी’ जस्तै बनाइरहेछन् । अर्थात् अहिले उनीहरूको एकमात्र ध्याउन्न आफू र आफ्नो परिवार कसरी सुरक्षित गर्ने भन्ने रहेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा ‘विगतमा आफ्नो पार्टीले जितेको आफूले राखेर विगतमा एमालेले जितेको ठाउँमा गठबन्धन गर्ने’ प्रस्ताव बोकेर देउबाको शरणमा लम्पसार बन्नु उनीहरूको दिनचर्या बनेको छ ।

प्रचण्डको सबभन्दा ठूलो चिन्ता भरतपुर महानगरमा छोरीले पुनः जित्ने हो कि होइन भन्ने रहेको छ भने माधवको सबभन्दा ठूलो चिन्ता आफ्नो भागमा शून्य सीट हात लाग्ने हो कि भन्ने रहेको छ । कम्युनिष्ट आन्दोलन, समृद्ध नेपाल र समाजवाद त उनीहरूको चिन्ताको विषय नै होइन ।

सबैलाई थाहा छ, व्यक्तिगत स्वार्थको गमलामा समाजवादी फूल फुल्दैन ।