७ कार्तिक २०८३, शनिबार

पैसाकै आडमा चलाइएको अर्घाखाँची सिमेन्टका कारण विद्यालयमा वर्षौँदेखि यस्तो असर

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, २५ फागुन । तुल्सा बेल्बासे बिगत एक दशकदेखि सियारी २ सेमरा रहेको श्री नवदुर्गा प्राथमिक विद्यालयमा पढाउदै आएकी छन् ।

बेल्वासे दैनिक जस्तो भैरहवा देखि ५–७ किमी टाढा रहेको यस बिद्यालयमा पुग्छिन् र बालबालिकालाई पढाएर साझँ घर फर्कने गर्छिन् । घर फर्किएपछि उनको आँखा सधैँ पोल्ने गर्छ । आँखा पानीले पखाल्छिन तर पोल्न कम हुँदैन । बेल्बासे अहिले आँखा उपचार गराउने सोचमा पुगेकी छन् ।

बेल्वासेको आँखा त्यसै पोल्दैन । यसको प्रमुख कारण हो बिद्यालय नजिकै रहेको सिमेन्ट उद्योग । हो, सियारी २ सेमरा रहेको श्री नवदुर्गा प्राथमिक बिद्यालय नजिकै ५० मिटरको दुरीमा अर्घाखाची सिमेन्ट उद्योग रहेको छ । उक्त उद्योग बाट निस्कने प्रदुषणका कारण बेल्चासेको आँखा अहिले पोल्न शुरु गरेको हो ।

बेल्वासे मात्र होइन उक्त विद्यालयमा हाल अध्ययनरत रहेका १ सय ४६ जना विद्यार्थी यस उद्योग बाट दिनहुँ पिडा झेल्दै आएका छन् । सिमेन्ट उद्योगका कारण विद्यार्थीहरुको पढाइमा समस्या सिर्जना भएको छ । २४ सैँ घन्टा सञ्चालन हुने उद्योगको आवाज कक्षा कोठा सम्म पुग्छ ।

त्यतिमात्रै होइन, उद्योगले छिनछिनमा उडाउने धुलोले विद्यालय परिसर धुल्याम्मे हुन्छ । सफा गरेर राखेको कक्षा कोठा १,२ घन्टा मै धुलो हुन पुग्छ । विद्यालयमा पढ्न आएका विद्यार्थीहरुको अनुहार पनि फर्कदा धुलाम्य हुन्छ ।

विद्यालयमा अध्ययनरत एक वालिकाका अनुसार विद्यालय आउने समयमानै उद्योग बाट निस्कने धुलोका कारण आखामा धुलो पसेर आखाँ बिझाउने गर्छ जसका कारण दिनभर आखाँ बिझाएर पढ्न लेख्न पनि कठिन हुने गरेको छ ।

उद्योग बाट निस्कने प्रदुषणका कारण आँखा पिरो हुने र पढ्ने बेलमा ठुलो ठुलो आवाजले गर्दा शिक्षकहरुले पढाउँदै गर्दा बुझ्न पनि कठिन हुने गरेको विद्यार्थी बताउँछन् ।

सिमेन्टको धुलोको कारण बालबालिकामा आँखा र छाला सम्बन्धी समस्या निम्त्याएको छ । कानुन विपरित उद्योग सञ्चालन गर्दै आएको अर्घाखाँची सिमेन्टले विद्यालयलाई झोला दिने, ट्याकसुट दिने गरि उद्योगको विरुद्ध नबोल्नको लागि ढाक छोप गर्दै आएको छ ।

विद्यालयका प्राधानाध्यापक राजमन पुरीका अनुसार उद्योगको धुलो धुवा आउनुका साथै जेनेरेटरको आवाज र गाडी लोड अनलोड गर्दा चर्को चर्को आवाजले पढाउने वातावरण छैन ।

उद्योग नीतिमा मानव बस्ती तथा विद्यालय भन्दा कम्तिमा २ किलोमिटर टाढा रहनु पर्ने प्रावधान रहेता पनि अर्घाखाँची सिमेन्टले पैसाकै आडमा विद्यालय सँग सटाएर उद्योग सञ्चालन हुँदा समस्या निम्तिएको छ ।

अर्घाखाँची सिमेन्टका कारण विद्यालय विस्थापित हुने अवस्थामा पुगेको छ । अर्घाखाची सिमेन्ट भन्दा करिव एक दशक अघि २०५५ सालमा स्थापना भएको नवदुर्गा प्राथमिक विद्यालय उद्योगकै कारण विस्थापित हुने अवस्थामा पुगेको छ ।