बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सशस्त्र प्रहरी बलको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न, सर्वोत्कृष्ट बने युवराज

दैनिक नेपाल २०७८ फागुन २१ गते ८:२४

काठमाडौं, २१ फागुन । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम शुक्रबार सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक युवराज खड्कालाई पुरस्कार प्रदान गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गरे ।

महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरूलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गरेका हुन् । त्यव अवसरमा उनले तालिमबाट दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै संगठनले व्यावसायिक तालिमका सिलेबसलाई समय सापेक्ष रूपमा परिवर्तन गर्दै त्यसअनुरूप निरन्तर यस्ता तालिमहरू सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

तालिमबाट प्राप्त ज्ञान प्रशिक्षार्थीहरूले आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत सिकाउँदै सामुहिक भावनाकासाथ पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा जुट्ने विश्वास खनालले व्यक्त गरेका छन् ।

१२ हप्ता अवधिको सो तालिम ३५ जना सशस्त्र प्रहरी निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती उत्कृष्ट भएका छन् । तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरूमा सम्बन्धित विषयका विषयविज्ञहरूबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित