७ कार्तिक २०८३, शनिबार

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको सञ्चिति बढाउन स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित नेपाल मुद्रण उद्योग महासंघको चौथो महाधिवेशन तथा साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले स्वदेशी उद्योगहरूले भोगेका समस्याहरूलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ ।

‘नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरूको आयातमा मात्र ठूलो रकम मुलुक बाहिर जाने गरेको छ । यससम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरूलाई प्रवद्र्धन गर्न सकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ,’ उनले भने । ८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । त्यसका लागि लिखित सुझावहरू पेश गर्न उनको सुझाव छ ।

आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समूहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी सो अवसरमा दिए । ‘अहिले नेपालमा गुणस्तरीय कागज उत्पादन हुन सकेको छैन । यो अभावलाई ध्यानमा राखेर आईएमई समूहले कागज उद्योगमा लगानी विस्तार गरेको छ । यो नेपाल मै गुणस्तरीय कागज उत्पादनमा कोशेढुंगा सावित हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

सरकारी तथा निजी मुद्रण उद्योगलाई समान दृष्टिले हेर्नुपर्ने धारणा उनको छ । ‘सरकारी स्वामित्वका मुद्रण उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित मुद्रण उद्योगबीच विभेद हुने गरेको गुनासो सुनेको छु । यदि त्यस्तो छ भने यसलाई तत्काल हटाउन जरुरी छ । महासंघ यहाँहरूको मागप्रति आफ्नो ऐक्यवद्धता जाहेर गर्छ र नेपाल सरकारले ल्याउने आगामि बजेटमा यसलाई समाधान गर्ने गरी कार्यक्रम ल्याउन संयुक्तरूपमा पहल गरौँ,’ उनले भने ।