
-विवि श्रेष्ठ
अन्तत्वोगत्व भोगाई र कल्पनाबीचको तादात्म्यता दुई खोलाको किनारा रहेछ । सोच्नु पाउनु नैसर्गिक अधिकार भएता पनि परिणाममा पाउनु अलग रहेछ ।
सोचको स्वखलित पनि उमेरको नियमनझै बाध्यतामा बाँच्नुपर्ने अनिवार्यता रहेछ । यहि अनिवार्यताको पहिलो अंश जीवनको उर्वरतामा बुझ्न नसक्दा पीडाको सागरमा डुवुल्कु मार्नुको विकल्प रहनेछ । धर्मराएको र हौसिएको जीवनमा त्राण भर्ने सोच पनि सुर्यको किरणसँगै तेज र फिक्का हुँदा रहेछन् ।
उर्वरतामा मौलाएको त्यो वृक्षमा उपयोगिताको गन्ध पलपलमा आउने रहेछ । चाहे त्यो वृक्ष होस वा प्राणी । अधिनस्थमा धावा बोल्नु निश्चित समयका लागि सहज भएता पनि अन्ततः हार नै त्यसको लक्ष्य रहेछ ।
गन्तव्यको त्यो क्षितिज पनि प्राप्तिमा मिठो लागे तापनि प्रतिकुलनमा सबैभन्दा हानिकारक बन्दोरहेछ । दम्भका बीचमा बाँचेको जीवनको ढल्कदो उमेरसँगै बोझ बन्दो रहेछ । रुप फेर्नु समान्य सृष्टिको निरन्तरता रहेछ ।
विचारको अडिगता पनि अनुकुलनतामा पाच्य हुँदोरहेछ । जता पनि फर्कने सक्ने व्यवहारका बीचमा जीवन तैरिएको हुँदोरहेछ । जीवन काँडा कि फुल ? प्रश्नको उत्तर गर्भमा नै रहने रहेछ, त्यसको व्याख्यता त भ्रम रहेछ ।
सोच र चेतनाबीचको तादात्यमता आकाश रहेछ । जसको सार भेटन असम्भव प्राय रहेछ । सोच पनि कस्ता, कस्ता ? उमेरको त्यो उन्मादमा सोचिएको सोच अन्ततः जीवनको सबैभन्दा घातक वस्तु रहेछ । उपयोगको दुनियाँमा सोचलाई एकाकार गराउन नसक्दा पानीको निश्चलता माथि पनि प्रश्न उठ्ने रहेछ ।
जीवनदर्शनका चरणलाई समयको त्यो वेगसँगै चिन्न नसक्नु भनेको मुर्खता रहेछ । प्राप्तिमा खुशी हुने र अप्राप्तीमा दुःखी हुने सोच भनेको दृष्टि दोष रहेछ ।
आखिरमा प्रकृति पनि त स्वार्थी रहेछ । गतिको त्यो मापनमा ढल्कने प्रकृतिको त्यो रौद्र रुपमा मानव जाति घुलन हुन नसक्दा जीवनमा देखिएको नैराश्यता जीवनको महत्वपुर्ण परिभाषा रहेछ । आखिर घमण्ड पनि पतन हुने रहेछ । मात्र त्यसको स्वरुप भने विभिन्न आकार प्रकारमा मिश्रित हुने रहेछ ।
त्यही घुलित स्वरुपमा हुने प्रकार्य नै जीवनदर्शन रहेछ । हिजो चम्किलो देखिने नयन पनि त आज धुमिल हुँदै गएको छ भने सोचमा विचलन समान्य अध्येता रहेछ । विश्वासको पनि आफ्नै विविधता हुने रहेछ । विश्वासमा पनि धमिराले जग हल्लाउने रहेछ ।
सोच्दा समान्य लाग्ने धमिराले पनि सिंगो रुप नै ढालेझै विश्वासको धमिराले जता पनि ढल्काउने रहेछ । यहि सोचको विविधतालाई र प्रकृतिको नियमनलाई बुझ्न नसक्दा देखिएका आत्मिक विचलन जीवनका सबैभन्दा शत्रु हुने रहेछ । भौतिकतालाई प्रधान देख्नु प्रकृतिको नियमनको एउटा अंश रहेछ । प्रकृति पनि सधैँ सदावहार त कहाँ हुँदोरहेछ ?
बाध्यतामा बाँच्नु नै जीवनका अनिवार्य शर्त रहेछ । बाध्यताको रौद्र रुप विभिन्न कालखण्डमा पटाक्षेप बन्दो रहेछ । त्यसलाई ग्रहण गर्नु आम प्रवृत्ति रहेछ । जसलाई हामी नतमस्तक बनेर ग्रहण गरिरहेका छौ । हिजोको त्यही पलमा देखिएको किरण आज पनि खोज्नु मुर्खता रहेछ ।
गतिका बन्धक सृष्टिका अनुयायीहरु हुने रहेछ । हिजो समान्य लाग्ने वस्तुहरु आज विशाल पहाड बनेर जीवनका गतिमा बाधक बनेका छन् । आहा, सोच पनि कति नतमस्तक ! जता पनि ढल्कने, त्यो ढल्काई अनुकुलतामा राम्रा लाग्ने, प्रतिकुलतामा खराव ।
यहि विषयका विविधतमा अल्झेका मानव जीवन गतिहिनतामा प्रभावहीन बनिदियो । नतमस्तकतामा समाहित बनिदियो । बाध्यतामा पनि क्रान्तिकारिता । सोच पनि जता पनि ढल्कने, जता पनि बग्ने, हावाको वेग जस्तै । जसको निरन्तरतामा कुनै समानता छैन । हावाको वहावमा उडेको चंगा अन्ततः झर्नुु नै पर्ने रहेछ ।
मानव जीवनको नियती पनि त्यो भन्दा पृथक कदापी नहुने रहेछ । फरक भनेको मात्रात्मक रुपमा मानवमा देखिएको दम्भ र घमण्ड । जब त्यो दम्भ र घमण्ड धर्तिम पटाक्षेप हुन्छ । जीवन निरर्थक र बोझ बन्दा रहेछ ।
धर्तिको चाहनापनि संयमताहोला, तर र्धित आफैले चाहँदैमा मात्र पनि त्यो प्राप्ति भएको पाईदैन । सृष्टिको यो अनुपमता भित्र धर्ती त सफल हुन सकेन भने त्यसको एउटा कणले प्राप्तिको चाहनामा सदैव मृगतृष्णा देख्नु भनेको फगत मिथ्या मात्र रहेछ । हिजोको त्यो चर्को स्वर आज विस्तारै मलिन भएछ क्या हो, वा उन्मादमा अस्तित्व रक्षाका लागि हुँकार । मलिन नभएता पनि झर्नु नै सत्यता हो । झर्छ, धर्तीमा अवश्य नै । धर्तीमा झर्नु र विलिन हुनु नै सृष्टिको सत्यता हो ।
मात्र त्यसको समयमा फरकपन मात्र । अब त नयनको बोलावट पनि विस्तारै धुमिल भएछ, क्यारे । आत्माको पुकारमा पनि बिर्को लागेछ क्यारे । बाध्यता नै सत्यता हो । देखावटी व्यवहार निश्चित समयका लागि राम्रो लाग्दछ । भोगाई र सोचाईको मिलन कदापि नहुने रहेछ । यहि नै सत्य रहेछ ।
वाध्यताका पनि विभिन्न आयाम हुँदाँरहेछ । त्यही बाध्यता प्राप्तिका बीचमा पनि प्रकट हुँदोरहेछ । बाध्यता सबैमा समान नहुँदो रहेछ । यसको रुप पनि असमान हुँदोरहेछ । चेतना पनि बाध्यताका अगाडी लाचार हुँदोरहेछ ।
बाध्यताका अगाडी क्रान्तिकारिता पनि स्वखलित बन्दो रहेछ । पलमा नै असमान हुने सत्यतामा सधै समानता खोज्ने सोचहरु नै जीवनका घातक वस्तु रहेछ । जसलाई हामी जीवनभर सिरानी हालिरहेका हुँदोरहेछौँ । दम्भका बीचमा अभ्यस्त हुनेहरुका चेतना अपुर्णता हुन् । जसले जीवन दर्शनसँग घुलित हुने हिम्मत गर्दैनन् ।
पलपलमा बगेको नदिका वहावमा पनि समान प्रवाह नहुँदो रहेछ । नाङ्गो आँखाले देखेका सबै सत्यता नहुने रहेछ । बाध्यतामा बाँच्नु नै जीवनका अनिवार्य शर्त रहेछ ।
बाध्यताको रौद्र रुप विभिन्न कालखण्डमा पटाक्षेप बन्दो रहेछ । त्यसलाई ग्रहण गर्नु आम प्रवृत्ति रहेछ । जसलाई हामी नतमस्तक बनेर ग्रहण गरिरहेका छौ । हिजोको त्यही पलमा देखिएको किरण आज पनि खोज्नु मुर्खता रहेछ ।













प्रतिक्रिया