२९ आश्विन २०८३, बिहिबार

अब निर्वाचनसम्मै सत्ता गठबन्धन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ ।

अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो । कांग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन आबद्ध सरकार निर्वाचनसम्म नै एक साथ अघि बढ्ने बताए । उनले गठबन्धनभित्र रहेका थप आशंकालाईसमेत चिर्दै अघि बढ्ने जानकारी दिए ।

‘गठबन्धन जारी रहन्छ, मुख्य कुरा सरकारमा सहभागी दल अब एक ठाउँ रहन्छन्, कांग्रेस भ्रमका बादल बाँकी भए निरन्तर हटाउन लाग्छ, भ्रमलाई हामी नै चिर्छौं,’ महतले भने ।

उनले अनेकन अफवाह र भ्रम चिर्दै संसद्ले एमसीसी सहयोगअन्तर्गत आर्थिक साहयता अनुमोदन गरेको र त्यसमा सहयोग गर्ने गठबन्धन आबद्ध सबै दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि धन्यवाद दिए ।

यसैगरी, नागरिक समाज, आमनागरिक र सञ्चारमाध्यमलाई पनि एमसीसी परियोजना अनुमोदन गर्न सहयोग गरेकोमा कांग्रेसले धन्यवाद दिएको छ ।

गठबन्धनमा आबद्ध दल जनमोर्चाले भने एमसीसी परियोजनामा असहमति राख्दै आएको थियो । उसले एमसीसी संसद्बाट अनुमोदन भएसँगै गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

जनमोर्चाले सोमबार बसेको केन्द्रीय सचिवालयमार्फत गठबन्धनबाट अलग हुने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । सो दलले एमसीसी खारेज हुनुपर्ने अडान लिँदै आइरहेको थियो, आजको राजधानी दैनिकमा महेश्वर गौतमले समाचार लेखेका छन् ।