३० आश्विन २०८३, शुक्रबार

५८ नेपालीले युक्रेन छाडे, ९० जना सीमाक्षेत्रमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । युद्धग्रस्त युक्रेनबाट आइतबार साँझसम्म कम्तीमा ५८ नेपाली छिमेकी पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी प्रवेश गरेका छन् ।

९० नेपाली ती मुलुकको सीमाक्षेत्रमा पुगेका छन् । युद्धमैदान बन्न पुगेको राजधानी किभ, खार्किभलगायत विभिन्न ठाउँमा रहेका थप ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छाडेकासमेत हालसम्म दुई सय २८ जना नेपाली बर्लिनस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन् ।

हालसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ । राजदूत खड्काका अनुसार पूर्वी युक्रेनको खार्किभमा पाँच नेपाली छन् । दक्षिण–पश्चिमको बेलासेरकुवा र मारियोपोलमा तीन–तीनजना छन् ।

‘उनीहरू सुरक्षित छन्,’ खड्काले टेलिफोनमा भने । खार्किभमा आइतबार रुस र युक्रेनका सैनिकबीच भिडन्त भएको छ । खार्किभ र राजधानी किभमा सोमबार बिहानसम्म कफ्र्यु छ । त्यहाँबाट कफ्र्यु हट्नासाथ नेपालीहरू पश्चिम युक्रेनतर्फ जाने पर्खाइमा छन् । अधिकांश नेपाली भूमिगत मेट्रो स्टेसनमा बसेका छन् । राजदूत खड्काका अनुसार हालसम्म ३० नेपाली पोल्यान्ड प्रवेश गरेका छन् । ‘७० नेपाली पोल्यान्ड प्रवेशका लागि लाइनमा छन् । पोल्यान्डको मेडिका सीमाक्षेत्रमा ६० घन्टासम्म पर्खाइमा राखिएको हुनाले सबैलाई प्रवेश गर्न अझै समय लाग्छ भन्ने सूचना आएको छ,’ खड्काले भने, ‘गैरआवासीय नेपाली संघका साथीहरूले सम्बन्धित मुलुकमा समन्वय गरिरहनुभएको छ ।’

त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् । यीमध्ये दुईजना डाक्टर स्वदेश फर्किंदै छन् भने बाँकी रोमानियामै बसेका छन् । तर, उनीहरू दूतावासको सम्पर्कमा छैनन् । स्लोभाकियामा गैरआवासीय नेपाली संघले आइओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको जानकारी बर्लिनस्थित दूतावासलाई दिइएको छ ।

आइतबार साँझसम्म चार नेपाली हंगेरी प्रवेश गरेका छन् । ‘केही नेपाली त्यसतर्फ जाँदै हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ राजदूत खड्काले भने, ‘हंगेरी पुगेका विदेशी नागरिकलाई त्यहाँको सरकारले सेकेन्ड क्लास रेलमा घुमघामका लागि निःशुल्क टिकटको व्यवस्था गरेको छ । त्यहाँ पुगेकाले राम्रो आतिथ्य पाएको खबर दिनुभएको छ ।’

युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरिबहादुर मल्लले अधिकांश नेपाली युक्रेनका विभिन्न भूभागबाट पश्चिमी सिमानातर्फ गइसकेको र अब थोरै मात्रै बाहिरिने प्रतीक्षामा रहेको बताए । लामो समयदेखि बस्दै आएका नेपालीले पनि युक्रेन छाड्न लागेको उनले बताए । ‘हामी लामो समयदेखि बसेका ४० जना पनि अब युक्रेन छाड्दै छौँ,’ मल्लले टेलिफोनमा भने, ‘किभ, खार्किभमा कफ्र्यु लागेको छ, लडाइँ भइरहेको छ । कुनै उपाय गरेर टर्की, जर्मनी वा अमेरिका जाने तयारीमा छु ।’ अन्य व्यवसायी पनि बाहिरिने योजनामा रहेको उनले बताए । ‘हाम्रो लाखौँ डलरको व्यवसाय छोडेर जानुपर्ने भयो, किनभने अब युक्रेनमा हाम्रो भविष्य सुरक्षित छैन,’ मल्लले भने, ‘पहिला ज्यान जोगाउनुपर्ने भयो, अब हामी बाहिर निस्किनुको विकल्प छैन । चाँडै नै हामी बाहिरिन्छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले समाचार लेखेका छन् ।