७ कार्तिक २०८३, शनिबार

हेटौँडा उपमहानगरपालिकाले सम्झौता गरे २९९ योजना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १४ फागुन । हेटाँैडा उपमहानगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता गरेको छ ।

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा २९९ वटा योजना सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । यो चालु आर्थिक वर्षको कुल योजनाको २४.१७ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक हजार २३७ वटा योजना अगाडि सारेको जनाएको छ ।

योजना महाशाखाका अनुसार चालु आवको प्रथम त्रैमासिकसहित विगत सात महिनामा २९९ वटा योजना सम्झौता गरेको जनाएको छ । चालु आवको प्रथम तीन महिनामा २०६ योजना सम्झौता भएको सो शाखाका किरण थापाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको ठेक्कामार्फत नौमध्ये छ वटा योजना सम्झौता भई निर्माण कार्य अगाडि बढेको र दुई वटा योजना बोलपत्र मूल्याङ्कनमा रहेको सो शाखाले जनाएको छ । नौ योजनामध्ये सात वटा आन्तरिक स्रोतबाट तथा दुई वटा बागमती प्रदेश सरकारसँग समपूरक लगानीको रहेको बताइएको छ ।

रु १० लाखभन्दा कमका योजना सम्बन्धित उपमहानगरपालिकाको वडा कार्यालयले सम्झौता गर्ने भएकाले त्यसको तथ्याङ्क तत्काल उपलब्ध हुन नसकेको बताइएको छ ।

सडक, नाला र पुलसहित अन्य भौतिक पूर्वाधारको विकास निर्माणमा उपमहानगरपालिकाले विशेष जोड दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

यसैबीच उक्त उपमहानगरपालिकाले चालु आवको छ महिनामा रु १५ करोड ३१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो रकम सम्पति करसहित विभिन्न शीर्षकबाट असुल भएको बताइएको छ । –रासस