
काठमाडौँ, १४ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेको बताएका छन् ।
शनिबार एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधान बाहिर गएर फैसला गरेको पुष्टि गरिसकेका बताए । अध्यक्ष ओलीले भने, पाँच जनाको बेन्च बन्छ, दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ ।
ओलीले अदालतको फैसला पूर्वनिर्धारित रहेको समेत बताए । उनले भने, एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो ।
इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् । पूर्व प्रधानमन्त्री ओलीले संसदले प्रधानमन्त्री निर्वाचित गर्नु पर्नेमा अदालतबाटै तोकेर पठाइएकोमा कटाक्ष गर्दै राष्ट्रपतिले नियुक्त गर्ने प्रधानमन्त्री सर्वोच्च अदालतले नै नियुक्त गरेर पठाएको बताए ।
सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको उनको भनाइ थियो । एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत उनले प्रष्ट पारे ।
उनले बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत बताए ।















प्रतिक्रिया