५ कार्तिक २०८३, बिहिबार

युक्रेनको राजधानी किभको सडकमा सुरु भयो युद्ध : सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किभ । युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किभको प्रशासनलाई उद्धृत गर्दै यहाँको सडकमा युद्ध सुरु भएको जनाएको छ।

युक्रेनको राजधानी किभमा प्रशासनले मुख्य सहरको सडकमा युद्ध सुरु भएकोले सर्वसाधरणलाई घरभित्रै बस्न र झ्यालबाट नहेर्न आग्रह गरेको छ। प्रशासनले बालकनीमा बाहिर नजान पनि चेतावनी दिएको छ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले राजधानी किभमा ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। युक्रेनको सेनाले पश्चिमबाट मुख्य सडकमा भएको आक्रमणलाई असफल बनाएको बताएको छ।

सेनाले दक्षिणको एउटा विमानस्थलमा युद्ध सुरु भएको जनाएको छ। यहाँ रुसी सेनाले हवाई हमला गरेको छ। युक्रेनी सेनाले सेना बोकेको रुसी विमानलाई खसालेको युक्रेनको भनाइ छ।

राष्ट्रपति जेलेन्स्कीले जनतालाई बलियो भएर बस्न आग्रह गरेका छन्। उनले युक्रेनको भविष्यको निर्णय भइरहेको बताए। युक्रेनमा सर्वसाधारणलाई हतियार दिइएको छ र रुसको आक्रमण रोक्न पेट्रोल बम बनाउन भनिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाले किभको भिक्ट्री एभिन्यूमा रहेको युक्रेनी सैन्य आधार शिविरमा आक्रमण गरेको छ । रुसी सेनाले सहरको एउटा पावर स्टेशन कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।

केही घण्टाअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले राति कीभमा आक्रमण गर्न सक्ने बताएका थिए। –बीबीसी