
काठमाडौं, १४ फागुन । एमसीसीका पक्षमा नउभिए गठबन्धन तोड्ने कांग्रेसको ‘चेतावनी’ पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति नरम बन्दै गएका छन् ।
गठबन्धन जोगाउन ‘एमसीसी’ अनुमोदन गराउने पक्षमा उनीहरूले पार्टीमा पनि बहस अघि बढाएका छन् । एमसीसीका पक्षमा स्पष्ट बहुमत नदेखिएपछि शुक्रबारको संसद् बैठक आइतबारलाई सारिएको छ ।
अमेरिकाले यसअघि नै सोमबार (फागुन १६) भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा तोकिसकेको छ । सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘पूरापूर भर’ नगरेका प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग पनि सहयोगका लागि वार्ता र छलफल तीव्र पारेका छन् । कांग्रेस र एमालेबीच सहमति नभएपछि प्रचण्डले शुक्रबार बिहानै शीर्ष नेताको बैठक बसाए । सुदूरपश्चिम पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई काठमाडौं फर्किन आग्रह गरे ।
नेपाल फर्केलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे । उनले एमसीसी अनुमोदनका पक्षमा ‘सकारात्मक’ वचन दिएको कांग्रेसी नेताहरूको भनाइ छ । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे । माओवादी केन्द्रको शीर्ष नेताको बैठकले गठबन्धन जोगाउने र एमसीसी पास गर्न दिने निर्णय गरेको थियो ।
त्यही निर्णय सुनाउन प्रचण्ड र अर्थमन्त्री बालुवाटार पुगे । यसअघि माओवादीले एमसीसी संसद्मा टेबल भए सरकार छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
गठबन्धन नै संकटमा पर्ने भएपछि माओवादीले ‘एमसीसी पारित हुन दिने र आफूले विपक्षमा मतदान नगर्ने’ निर्णय गरेको माओवादी स्रोतले बतायो । पार्टीका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीका शीर्ष नेताको संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
माओवादीका नेता शक्ति बस्नेतले राष्ट्रिय सहमतिका लागि वैकल्पिक बाटो के हुन सक्छ भनेर पार्टीले सोचिरहेको बताए । माओवादी नेता हरिबोल गजुरेलले एमसीसीका केही प्रावधानमा पार्टीको असहमति रहे पनि ‘निष्कर्षमा पुर्याएर गठबन्धन कायम राख्नुपर्छ’ भन्नेमा पार्टीले सोचिरहेको बताए, आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्ले र राधा खनालले समाचार लेखेका छन् ।















प्रतिक्रिया