१५ कार्तिक २०८३, आइतबार

नेपालमा रुस–युक्रेन युद्धको असर, सम्भावित असर कसरी रोक्ने ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ फागुन । रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिन सक्ने भएको छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि देखिने विज्ञले बताएका छन् । रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ति बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हिजो प्रतिब्यारेल एक सय ५ डलर पुग्यो । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् । दुई देशबीचको युद्ध थप बढ्दै गए आउँदा दिनमा तेलको भाउ अझै बढ्न सक्ने अनुमान छ । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युद्ध सुरु भएपछि कच्चा तेलको आपूर्तिमा असर पर्न थालेको छ ।

युद्ध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अझै बढ्न सक्ने र नेपालमा पनि महँगो हुनेछ । योसँगै नेपालमा ढुवानी र आपूर्तिमा समस्या निम्तिने पूर्व अर्थसचिव युवराज भुसाल बताउनुहुन्छ ।

पेट्रोल, डिजेल, मट्टितेल, ग्यासलगायतको भाउ बढेपछि यसले नेपाली भान्सामा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ । नेपाल आयल निगमको घाटा अझ बढ्ने देखिन्छ । घाटा वहन गर्न सरकारले खर्च गर्नुपर्नेछ । त्यस्तै रुस र युक्रेनसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी देशबीच आयात निर्यात प्रभावित हुन सक्ने देखिन्छ ।

नेपालले रुस र युक्रेनबाट केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेललगायतका वस्तु आयात गर्छ । केही समयका लागि यी आयात हुने वस्तुमा समस्या देखिन सक्ने पूर्व अर्थसचिव भुसालले बताउनुभयो ।

सम्भावित असर कसरी रोक्ने ?

तत्काल तथा दीर्घकालीन रुपमा देखिन सक्ने असरलाई ध्यानमा राखेर सरकार चनाखो हुनुपर्ने र आवश्यक गृहकार्य थाल्नुपर्नेमा पूर्व अर्थसचिव भुसालको जोड छ।

सरकारले सम्भावित असर न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायबीच छलफल गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, अवस्थाको आकलन गरी सेवाप्रवाहलाई नियमित गर्नुपर्ने, आयल निगमको भण्डारण क्षमता बढाउनुपर्ने, बिजुलीको प्रयोग सकेसम्म बढाउनुपर्ने पूर्वसचिव भुसाल बताउनुहुन्छ।

साथै उपभोक्ताले पनि हल्लाको पछाडि नलागि संयमता अपनाउन, अनावश्यक रुपमा उपभोग्य वस्तु सञ्चय नगर्न उहाँको आग्रह छ । दुई देशबीचको युद्ध लम्बिने अवस्थामा आउनसक्ने सङ्कटतर्फ चनाखो रहँदै स्वदेशभित्रको तयारीमा सरकारले तत्काल ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।