मंगलबार, ४ असार २०८१
DainikNepal.com
मंगलबार, ४ असार २०८१

सहकारीको ब्याज समायोजन गर्न बागलुङका सहकारीकर्मीको माग

दैनिक नेपाल २०७८ फागुन १२ गते ८:३९

बागलुङ, १२ फागुन । बागलुङका सहकारी संघहरुले सहकारीको ब्याजदर पुनरवलोकन गर्न माग गरेका छन् ।

जिल्ला सहकारी संघको अगुवाईमा जिल्लामा रहेका विषयत सहकारी संघहरु र कोअपरेटिभ म्यानेजर्स क्लवले सहकारीको ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारी मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सहकारी अभियानका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा ज्ञापनपत्र पठाइएको हो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले सहकारी अभियानका तर्फबाट तयार गरिएको ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई बुझाएकी हुन् । बजारमा ब्याजदर वृद्धि भएको सन्दर्भमा सहकारीको ब्याजदर पुनरावलोकन नभए सहकारी संघ संस्थाहरुको व्यवसाय प्रभावित भइ देशको अर्थतन्त्रमा नै असर पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

बैक तथा वित्तीय संस्थाहरुले वचत तथा ऋणको ब्याजदरमा अनियन्त्रित वृद्धि गरेसंगै आम उपभोक्तालाई मर्का परेकोले तत्काल समयानुकल संशोधन गरी वातावरण सहज गराउन ज्ञापन पत्र मार्फत ध्यानार्षण गराइएको छ । यस्तै वर्तमान अवस्थामा वचतमा १२ प्रतिशत ब्याज दिदा र ऋणमा १४.७५ प्रतिशत ब्याजदरका कारण सहकारीहरुको व्यवसाय, सम्पत्ती एवं कारोबारको व्यवस्थापनमा चुनौती थपिदै जाने र भविस्यमा दुर्घटना समेत हुन सक्ने भएकाले ६ प्रतिशतको स्प्रीड दर तोक्न माग गरिएको छ ।

सहकारी ऐन २०७४ को दफा ५१ बमोजिम गठित सन्दर्भ ब्याजदर समितिद्वारा सहकारी नियमावली २०७५ को नियम २३ बमोजिम २०७७ कात्तिक १५ गते बाट १४.७५ प्रतिशत तोकेको सहकारी विभागले वर्तमान समयलाई ध्यानमा राखी बजारमा ब्याजदर बढ्दा बढ्ने र घट्दा घट्नु पर्दछ भन्ने कुरामा सहकारी संवेदनशील रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बजारमा ब्याजदर दिन प्रतिदिन बृद्धि भइरहेको सन्दर्भमा सहकारी विभागले ब्याजदर पुनरावलोकन नभएमा सहकारीको व्यवसाय प्रभावित हुने र देशको अर्थतन्त्रमा नै प्रतिकुल प्रभाव पर्ने कुरालाई दृष्टिगत गरी सहकारीहरु स्वयंले ६ प्रतिशत स्प्रीड दर अनुसार ब्याज तोक्ने कुरा समेत अवगत गराइएको ज्ञापन पत्रमा उल्लेख छ ।

जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी अञ्जु, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतम, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवर, बागलुङ जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव ऋषिराम गौतम, सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष खीमबहादुर कार्की, को–अपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपकजङ्ग राजभण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सहकारी मन्त्रालयमा पठाइएको हो । रोहन जि.सीबाट

प्रतिक्रिया
सम्बन्धित