७ कार्तिक २०८३, शनिबार

जनताबाट जन्मिएको एमाले फेरि उदाउने छ, रोक्ने तागत कसैसँग छैनः अध्यक्ष ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ११ फागुन । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले फेरि उदाउने बताएका छन् ।

वुधबार आफ्नो ७१ औँ जन्मदिनको अवसरमा आफ्नो मन्तव्य तथा विचारहरूको अंश समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ओलीको जन्मोत्सवको अवसर पारेर पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यले संयुक्त रूपमा लोकार्पण गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘चुनावबाट एमाले फेरि उदाउने छ, रोक्ने तागत कसैसँग छैन किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ ।’

ओलीले जनताको माया आफू र एमालेले पाएको र फेरि पनि पाउने बताएका छन् । ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ,’ ओलीले थपे । उनले आफू जनताकै मायाले देश चलाउने ठाउँमा पुगेको बताए ।

‘मैले जनताबाट असाधारण सहयोग पाएको छु, म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया र सहयोगले जेलमुक्त भएँ, बिरामी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ र अब जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’ ओलीले भने, ‘जनता भगवान् हुन, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक लडाए भने पनि जीवन त सकिँदैन ।’

उनले एमालेले युद्व नहारेको पनि प्रष्ट पारे । ‘एमालेले एउटा मोर्चामा हारेको हुनसक्छ, तर त्यत्तिले युद्धको हार हुँदैन । हामीले समग्र युद्ध हारेका छैनौं । एउटा मोर्चा हारेका हौं । त्यसैले हामी आउँछौं,’ ओलीको भनाई छ ।

‘म बिरामी हुँदा मठमन्दिर र गुम्बाहरूमा प्रार्थना गरिए, भाकल गरिए, सबैले आफ्नो आस्थाअनुसार शुभकामना र शुभेच्छा प्रकट गर्नुभयो, जनताको शुभकामना जति ठूलो अरु कुरा राजनीतिमा चाँहि केही पनि हुँदैन रहेछ । जब जनताको शुभकामना हुन्छ, त्यहाँ साथ हुन्छ, सहयोग हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसैले आज भने गाडीमा कहानेर ब्रेक लगाउने ? कहाँनेर गेयर चेन्ज गर्ने भन्ने निर्णय गर्ने ठाउँमा छु ।’

आफू दुर्गम गाउँमा जन्मिएको, धुले स्कुल पढेर गाउँमा हुर्किएको जनताको छोरो भएको स्मरण गर्दै उनले भने, ‘म एउटा पछाडि परेको दुर्गम गाउँमा जन्मिएको मान्छे, गाउँको धुले स्कुलमा पढेर हुर्किएको, गाईभैंसी चराउँदै हुर्किएको, आफैं भात पकाउँदै लुगा धुँदै आफैले आफ्नो काम गरेर जानेर आएको मान्छे हो ।’