
काठमाडौँ, ११ फागुन । ओलीको जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए ।
‘मैले जनताबाट असाधारण सहयोग पाएको छु, म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया र सहयोगले जेलमुक्त भएँ, बिरामी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ, र अब जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’ उनले भने, ‘जनता भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक लडाए भने पनि जीवन त सकिँदैन ।’
उनले एमालेले युद्व नहारेको दाबी गरे । ‘एमालेले एउटा मोर्चामा हारेको हुनसक्छ, तर त्यत्तिले युद्धको हार हुँदैन । हामीले समग्र युद्ध हारेका छैनौं । एउटा मोर्चा हारेका हौं । त्यसैले हामी आउँछौं,’ उनले भने ।
उनले राजनीतिमा जनताको शुभकामना र शुभेच्छा नै महत्वपूर्ण भएको अनुभव सुनाए । ‘म बिरामी हुँदा मठमन्दिर र गुम्बाहरूमा प्रार्थना गरिए, भाकल गरिए, सबैले आफ्नो आस्थाअनुसार शुभकामना र शुभेच्छा प्रकट गर्नुभयो, जनताको शुभकामना जति ठूलो अरु कुरा राजनीतिमा चाँहि केही पनि हुँदैन रहेछ ।
जब जनताको शुभकामना हुन्छ, त्यहाँ साथ हुन्छ, सहयोग हुन्छ,’ उनले भने, ‘त्यसैले आज भने गाडीमा कहानेर ब्रेक लगाउने रु कहाँनेर गेयर चेन्ज गर्ने भन्ने निर्णय गर्ने ठाउँमा छु ।’
उनले आफू दुर्गम गाउँमा जन्मिएको, धुले स्कुल पढेर गाउँमा हुर्किएको जनताको छोरो भएको सुनाए । ‘म एउटा पछाडि परेको दुर्गम गाउँमा जन्मिएको मान्छे, गाउँको धुले स्कुलमा पढेर हुर्किएको, गाईभैंसी चराउँदै हुर्किएको, आफैं भात पकाउँदै लुगा धुँदै आफैले आफ्नो काम गरेर जानेर आएको मान्छे म,’ ओलीले अघि भने, ‘मेरा ग्रहदशा पनि ठीकै होलान् ।
हुन त त्यो ज्योतिषीले हेर्ने कुरा हो । जनता सबै एकातिर लागेपछि ज्योतिषीले नि राम्रै भन्लान् भन्ने लाग्छ । सबैभन्दा मुख्य कुरा जनताको आशीर्वाद हो, अहिले मलाई त्यो प्राप्त छ ।’अध्यक्ष ओली बुधबारदेखि ७० वर्ष पूरा भएर ७१ वर्ष लागेका छन् ।















प्रतिक्रिया