
काठमाडौँ, ११ फागुन । नेपाल पत्रकार महासंघले वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले वुधबार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहँदा पत्रकार पाण्डेले पुस २३ मा सामाजिक सञ्जालमा लेखेको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएको हो ।
’सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको महासंघले जनाएको छ ।
पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघले जनाएको छ ।
नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले उल्लेख गरेको छ ।
महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।












प्रतिक्रिया