२९ आश्विन २०८३, बिहिबार

प्रिय प्रचण्ड, इतिहासले उत्तर खोज्ने ‘प्रश्न’हरू छन्

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जब नेताले कार्यकर्तालाई ‘विचारहिनतामा आइसोलेट’ गर्छन् राजनीतिको गति मतिभ्रष्ट हुँदै जान्छ। चित्त बुझ्नेहरू ठिकै त हो भन्छन्, आइसोलेटहरू गालीगलौजमा उत्रिन्छन्। तर, प्रश्नहरू मूर्त हुन्छन् र तिनले जवाफ मात्र खोज्दैनन्, व्यवाहारिक र उत्तरदायी जवाफको अपेक्षा गर्छन्।

व्यक्तिगत लाभहानीका सवाल छैनन्। वैयक्तिक रूपमा हेर्दा प्रचण्ड प्रिय छन्। तर प्रचण्ड व्यक्तिगत होइनन्। एउटा संस्था मात्र होइन, नयाँ व्यवस्थाका जीवित सम्झौताकार पनि हुन्। यसका साक्षी किनारा माधव नेपाल र कृष्ण सिटौला पनि उनकै साथमा छन् अहिले त्यसैले इतिहासले न्यायको खोजीनीति गर्छ भन्ने खबरदारी गर्छु।

गाउँतिर छर्रा बोकेर बरालिएका अनि अझै सहयोग हुन्छ भन्ने आश गरि बसेका निर्धनको अनुहारको गहिराईमा पीडाबोधको झझल्को देखेको मानिसले गणतन्त्रको यो चर्तिकला हेर्दा स्वभाविक प्रश्न त गर्छ नै। नेपाली मूल राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड भन्ने पात्र अहम् छन्। उनी भन्छन्,‘आगोसँग नखेल्नू।’ जनताले आगो पानी सबै सहिसकेका छन्। अब खेल्दैनन्। तर चुनाव आउँदैछ, प्रश्नचाहिँ गर्छन् फेरि पनि।

यो कुनै पक्षकारिताका आधारमा प्रचण्डलाई मात्र सोधियो, अरु पनि जिम्मेवार छन् भन्ने तर्कका निम्ति होइन। यो परिस्थितिको एउटा जीवित हस्ताक्षरकर्ता र केन्द्रीय राजनीतिलाई मन्दरा पर्वत समुद्रमा मदानी बनाएजसरी दुईतिरबाट मन्थन गर्ने भएका कारण उनीमाथि प्रश्न गरिन्छ। प्रचण्डको प्रयोग र बिचलनले अहिले आन्तरिक राजनीतिमात्र होइन, बाह्य कुटनीति पनि खलबलिने भएकाले प्रश्न उनीमाथि हुन्छन्।

अन्य परम्पारगत पार्टीका नेताचाहिँ दूधले नुहाएका छन् भन्ने होइन, लाखौं जनजीवन, जनजीविका र परिवारलाई प्रभावित बनाउँदै, १७ हजार बढीको लासमाथि कुल्चिएर मैदानमा उत्रिएका कारणले प्रचण्डले जिम्मेवारीका साथ प्रश्न सुन्नुपर्छ, त्यसको व्यवाहारिक उत्तर दिनुपर्छ। शान्तिका नाममा राजनीति र व्यवस्थालाई चिहान बनाउने छुट छैन।

गणतन्त्रको चिहानमा बसेका जनताले हरेक साता पेट्रोलियमको भाउ बढेको बिर्सन्छन् भन्ने नै लाग्छ? प्रचण्डसँग अनेक प्रश्न छन् त्यसअघि औचित्य पुष्टि गर्न नसकेका दुई सन्दर्भलाई राख्नुछ।

लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा किन नियुक्त गरियो? अनि फेरि उनलाई नै महाअभियोग किन लगाइयो? अर्को प्रश्न छ, चोलेन्द्र शमशेर राणालाई मन्त्रिपरिषदमा किन भाग दिइयो, त्यसको प्रतिरक्षामा प्रचण्ड वाणी किन आयो र किन फेरि महाअभियोग लगाइयो?

यो मुलुकमा सबैले नैतिकताको सजाय भोग्नुपर्ने, सबैले त्यसका उत्तर दिनुपर्ने तर प्रचण्ड र प्रचण्डकृत राजनीतिको पेरीफेरिले कुनै जवाफ दिनु नपर्ने? यो कुन गणतन्त्र हो?

प्रचण्डले गणतन्त्र ल्याउने नेतृत्व गरेको अस्वीकार्य छैन। तर, यसको व्यवस्थापनमा गरेको लापरवाही र मनोगत राजनीति मात्र गरी अस्थिरतालाई कायम राखेको अपजसचाहिँ बोक्नु पर्छ पर्दैन? परिवारवाद, कृपावाद र भ्रष्टाचारको चरमचुली भएको भनी आफ्नै महाधिवेशनको दस्ताबेजमा उल्लेख गरिएको थियो। त्यसको जिम्मेवारीचाहिँ प्रचण्डले लिनु पर्दैन?

प्रचण्ड, माधव नेपालसहितलाई घेराबन्दीमा राखेर गरेका प्रश्नका उत्तर के छन्? राजनीति भनेको प्रश्नहरूको व्यवाहारिक उत्तर दिने प्रणाली स्थापित गर्ने प्रक्रिया हुन्छ। तर, प्रचण्डहरू प्रश्नबाट भागिरहेका छन् अनि बिरोधाभाषको पुनर्जन्म गरी फेरि प्रश्नहरूमाथि नै उभिइरहेका छन्

प्रचण्डको राजनीति परिवारभन्दा अर्को घेरामा कहिले पुग्यो? भागशान्ति र द्रव्यगुहारको बारेमा आम साधारणले बोल्न पाउने कि नपाउने? यावत छन् प्रश्न।

प्रचण्ड परिवर्तनका कतिपय उदाहरण त मैदानमा देखिएका थिए नै। यदि प्रचण्डले युग नै परिवर्तन गरेका हुन् भने पदम कुँवर र रतन तिरुवाहरू झापु र जुत्ता किन हानिरहेका छन्? कुन गणतन्त्रमा हुर्किए यी व्यक्तिहरू?

गणतन्त्रले त्यति धेरै सुविधा दिएको छ भने सहिद भनिएका परिवार, महिलाका प्रश्नहरूमा अनुहार किन कालो हुन्छ? सहिदको बच्चोले मञ्चमा प्रश्न गर्छ– तिमी सुख सुविधा र पदीय लोभतिर लाग्यौ, माओवादको स्पिरिटलाई जोगाउनेतिर हामीतिर कहिले फर्किन्छौं? यसको जवाफ उत्तरदायी ढंगले दिने हिम्मत छ?

यदि प्रचण्डको क्रान्तिको बेग तिव्र थियो र आमूल परिवर्तन गरेकै हुन् भनेर मान्दा लोकेन्द्र विष्ट मगरहरू किन दाङका बाँझो बारीतिर बरालिएका छन्, राजनीतिदेखि निराश भएर?

१४ जातिय प्रान्तको प्रस्ताव बोकेर राजनीतिक उत्थानमा हिँडेकाहरूले नै सोध्न सक्छन्– कहाँ पुगे ति मुक्तिका कुरा र राज्यहरू? साम्राज्यवादविरूद्धको आन्दोलनमा हिजो अमेरिकी राजदूतमाथि जुत्ता हान्नेहरूले सोध्न सक्छन्– साम्राज्यवादलाई पत्र कोरी–कोरी भित्राउने को हो? त्यो हस्ताक्षरको मूल्य के हो? अरुले होइन अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका कृष्णबहादुर महराले नै औंलो उठाउन सक्छन्– मेरो सभामुख पद किन खाइयो? यत्तिका लागि हो?

प्रश्नहरूको थाक कहाँ यत्तिमा सकिन्छ र? प्रचण्डलाई गर्ने प्रश्नहरू विश्वविद्यालयका भन्दा ज्यादा छन् र अति गहिरा पनि। नेकपा कालमा साम्राज्यवादविरूद्ध भेनेजुएलाको पक्षमा विज्ञप्ति निकाल्नेले अहिले युक्रेनविरूद्ध रसियाको पक्षमा किन ननिकालेको?

यी साधारण उदाहरण मात्र हुन्। एउटा कार्यक्रममा विभिन्न ठाउँमा माओवादी युद्धकालमा सम्पत्ति लुटिएका, आफन्त मारिएका परिवारले प्रचण्ड, माधव नेपालसहितलाई घेराबन्दीमा राखेर गरेका प्रश्नका उत्तर के छन्? राजनीति भनेको प्रश्नहरूको व्यवाहारिक उत्तर दिने प्रणाली स्थापित गर्ने प्रक्रिया हुन्छ। तर, प्रचण्डहरू प्रश्नबाट भागिरहेका छन् अनि बिरोधाभाषको पुनर्जन्म गरी फेरि प्रश्नहरूमाथि नै उभिइरहेका छन्। यस अर्थमा प्रचण्डले जस लिने गणतन्त्रमाथि आम मानिसले प्रश्न गर्न सक्छन्, होसियार!

अघिल्लो बर्षको हिउँदमा मात्रै एमसीसी मुर्दावाद भनेर पुल्चोकतिर नारा लाग्दा त्यसलाई रोकी मोर्चाबाट निवासतिर छिरेका प्रचण्ड कुन हुन्? अनि, शेरबहादुर देउवासँग संयुक्त हस्ताक्षर गरी गठबन्धनमा सहमति गरी एमसीसी पास गराउनेछौं भनेका प्रचण्ड कुन् हुन्? कार्यकर्तातिर फर्केर एमसीसी विरोधमा आन्दोलन ठिक छ भन्ने प्रचण्डको व्याख्या कसरी गर्ने? अनि, सभामुखमार्फत एमसीसी टेबुल गराउने निर्देशन दिने प्रचण्डको बयान कसरी गर्ने? यसको जवाफ कुटनीतिक जानकार, बौद्धिक जगतले खोज्छ।

एमसीसीको गहिराईको सन्दर्भमा अर्को बहस हुनेछ तर यसको वकालत गरिरहेका लेखक अरुण सुवेदीले एउटा बहसमा भनेका छन्,‘प्रचण्डलाई राज्यद्रोहको मुद्दा लगाउन सकिन्छ।’ आखिर यी तर्कहरू, आरोपहरूको जग कसले कहाँ कसरी बसाल्यो? पछार्यो? यी अनेक अनुत्तरित प्रश्नहरूले न्याय माग गरिरहेका छन्। कमरेड प्रचण्ड, भविष्यले उत्तर खोज्छ। इतिहासले उत्तर माग गर्छ भन्ने नबिर्सनुहोला।