
धनगढी, १० फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेता भीम रावललाई स्पष्टिकरण सोधनिदुपर्ने बताएका छन् ।
पार्टीको निर्णयविपरीत संसदमा धारणा राखेका रावललाई स्पष्टीकरण सोधिनुपर्ने बस्नेतले बताएका हुन् ।
मंगलबार प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियम विपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाएका छन् ।
बस्नेतले भिम रावल छाडा साँढे नभएको भन्दै सबै पार्टीको अनुशासनमा बस्नुपर्ने बताए ।
‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’
सभामुख संसदीय व्यवस्थाबारे जानकार नभएको बस्नेतको भनाइ छ । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’
त्यस्तै, नेता बस्नेतले प्रचण्ड र माधवका दोहोरो चरित्रका कारण एमसीसी गिजोलिएको समेत बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने,‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’
त्यस्तै, उनले चुनावमा माओवादीसँग कुनै तालमेलको सम्भावना नरहेको पनि बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’












प्रतिक्रिया