
काठमाडौं, १० फागुन । के तपाई नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार ! अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ ।
हिजो सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरि सजिलै नक्कली वा सक्कली छुट्याउन सक्ने बताए । उनले एक बर्षे परीक्षणकालको अबधिमा पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको समेत जानकारी दिए ।
महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब उप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्ने बताए ।
उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले बिकसित प्रबिधिको प्रयोग गरिलाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए ।
कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास उनले व्यक्त गरेका छन् ।
कसरी काम गर्छ त, एप्सले ?
विशेष प्रकारका मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाइ गरिन्छ । उक्त लाइसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाइसेन्स भेरिफाई गरिन्छ ।
उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाइलमा इन्स्टलगरि चेकजाँचको क्रममा अन द स्पटलाइसेन्स भेरिफाई गर्न सक्ने छन् । क्यूआर स्क्यान गरिलाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।















प्रतिक्रिया