
काठमाडौँ, ७ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतामहतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनु पर्नेमा जोड दिए । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ ।
डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरु पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो ईच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’
उनले कांग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए । उनले थपे, ‘एमाले एमसीसीको पक्षमा छ । देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन् । एमसीसी निजी स्वार्थको लागि होइन, काँग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो । एमसीसीबारे भएका आलोचना गलत छन् ।’












प्रतिक्रिया