
काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले एमसीसीबारे अब वार कि पार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार संसद बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका छन् ।
उनले नेपालले मात्रै चाहेर एमसीसी संशोधन नहुने र विवादित विषयमा स्पष्टिकरण सोधिएको बताउँदै अघि बढाउनुपर्ने बताए ।
थापाले भने, ‘पास भए पास, फेल भए फेल होस्, कति दिन छलफल गर्नुपर्छ, गरौं । यही कुरा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई समेत भन्नुभएको छ ।’
उनले भने, ‘गठबन्धन किन बन्यो ? हाम्रो बीचमा कुराकानी मिलेर बनेको । कुराकानी मिलेन भने गठबन्धन चल्दैन । फरक फरक दल भएका कारणले गठबन्धन हुन केही कुरामा कुराकानी मिल्नुपर्छ । हामी सँगै हिँड्नका लागि गठबन्धन बनेको हो । कुनै एउटा विषयका लागि बनेको होइन, एउटा विषयका कारण भत्किनु पर्छ भन्ने पनि होइन ।’
थापाले एमसीसीको पक्ष विपक्षमा मतदान गर्ने स्वतन्त्रता दलमा हुने बताए । ‘अब यसलाई वार कि पार गरौं भन्ने हो । दर्जनौं पटक हामी छलफलमा सँगै बस्यौँ । संशोधन गर्ने ठाउँ नभइसकेपछि केही विषयमा प्रस्ट पार्न स्पष्टिकरण सोध्यौं । अझ पनि अहिले टेबल नगरौं, एक दुई महिना पर सारौं भन्ने कुरा आइरहेको छ,’ उनले भने, ‘यो विषय काँग्रेसको मात्र जिम्मेवारी हो भन्नेजस्तो कुरा भइरहेको छ । सबै जना पन्छिएर काँग्रेसको मात्र जिम्मेवारीको कुरा हो भनेर पन्छिएकोमा हाम्रो आपत्ति छ ।’












प्रतिक्रिया