आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बाल हिंसा रिपोर्टिङसम्बन्धी निर्देशिका निर्माण

माधव बेल्वासे २०७८ फागुन ६ गते ९:०५

चन्द्रौटा (कपिलवस्तु), ६ फागुन । बालबालिकामाथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङसम्बन्धी निर्देशिका तयार पारिएको छ ।

शिवराज नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरूसँगको छलफलपश्चात् उक्त निर्देशिका तयार भएको हो । विभिन्न बहानमा बालबालिकाहरू हिंसामा परिरहेको बताउँदै हिंसालाई अन्त्य गर्न सबैले तत्परता देखाउनुपर्नेमा जोड दिइएको छ ।

युनिसेफको सहयोग र शिवराज नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा वडा न ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेले नगरभित्रका विद्यालयहरू बालबालिकामाथि हुने हिंसारहित बनाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने बताए । समाजलाई सचेत बनाउँदै बालमैत्री समाज बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनीले बालबालिकामाथि हिंसा गरिएमा वा हिंसाका साक्षी भएमा उनीहरूको जीवनमा दूरगामी नकारात्मक असर पर्ने बताए । समाजमा बाल हिंसाका कुनै घटना भएमा ती घटनालाई समाधान गर्न सबै लागि पर्नुपर्नेमा जोड दिए ।

विद्यालय तथा स्वास्थ्य क्षेत्रले बालबालिकामाथि भएका हिंसाका प्रकृतिसहित रिपोर्टिङ आवश्यक रहेकाले निर्देशिका तयार पारिएको कैनीले जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता तथा प्रशिक्षक राजु कुमार श्रीवास्तवले बालअधिकार, हंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजायलगायत अन्य विषयमा प्रशिक्षण दिएका थिए । सहभागीहरूको राय र सुझावको आधारमा बालबालिकामाथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङसम्बन्धी निर्देशिका तयार पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित