आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौं : राप्रपा अध्यक्ष थापा

दैनिक नेपाल २०७८ फागुन ६ गते ८:५४

काठमाडौं, ६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन् ।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताएका छन् । भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई हिजो बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थला बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने पनि बताएका छन् ।

पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनस्र्थापनाको मुद्धालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई व्युताउँन वाध्य भएको जानकारी दिँदै अध्यक्ष थापाले अब राप्रपा नेपालले रणनीतिक रूपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मूख्य एजेण्डा बनाएर अघि बढ्ने भएकोले सबै भ्रातृ संगठनहरूलाई आम जनता समक्ष यो सन्देश पुर्याउन निर्देशन दिएका छन् ।

सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्धनवादको सिद्धान्त अवलम्वन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रष्ट पारे ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष ममता राई, राप्रयुसंका उपाध्यक्ष दामोदर वाग्ले, पूर्वप्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, राप्रविसंका कार्यवाहक अध्यक्ष सशी भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनका उपाध्यक्ष सरला विक, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, राप्रविसंका पूर्व अध्यक्ष उज्वल पोखरेल लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ । घोषणासभा लगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित